प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले केवल औपचारिक कूटनीतिक यात्राका रूपमा नभई नेपाल–भारत सम्बन्धलाई नयाँ दिशा दिने अवसरका रूपमा प्रस्तुत गरेका छन्।
तस्बिर : प्रधानमन्त्रीको सचिवालय/रासस
ऊर्जा, आर्थिक सहकार्य, पूर्वाधार, व्यापार, पारवहन र क्षेत्रीय कनेक्टिभिटीलाई प्रमुख प्राथमिकतामा राख्दै भारतीय मिडियाले भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप मजबुत हुने अपेक्षा गरेका छन्।
तर, उनीहरूको समाचार विश्लेषणमा नेपालको पुनर्निर्माण सहायता अपेक्षा, हवाई मार्गको माग, सीमा विवादको पृष्ठभूमि र भारतको रणनीतिक चासो पनि समानान्तर रूपमा देखिन्छन्।
प्रधानमन्त्री शाह आइतबार नयाँ दिल्ली पुग्नुभएको हो । मार्चमा प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्तालाई भारतीय सञ्चारमाध्यमले भ्रमणको मुख्य राजनीतिक उपलब्धि निर्धारण गर्ने घटनाका रूपमा हेरेका छन् ।
भारतको सहयोगमा नेपालमा सम्पन्न परियोजनाको उद्घाटन, नयाँ परियोजनाको शिलान्यास र विभिन्न क्षेत्रमा समझदारीपत्र आदानप्रदान हुने अपेक्षाले पनि भ्रमणलाई महत्त्वपूर्ण बनाएको छ ।
भारतीय मिडियामा आर्थिक सहकार्य र ऊर्जा प्राथमिकता
भारतीय अंग्रेजी दैनिक द इण्डियन एक्सप्रेसले प्रधानमन्त्री शाह र मोदीबीचको वार्तामा आर्थिक सहकार्य, ऊर्जा, पूर्वाधार र कनेक्टिभिटीलाई मुख्य विषयका रूपमा प्रस्तुत गरेको छ ।
उसको रिपोर्टअनुसार नेपालले बाढीपछिको पुनर्निर्माणका लागि आर्थिक सहयोग प्याकेज, ऊर्जा सहकार्य, नयाँ हवाई मार्ग, अयोध्या–जनकपुर रेल सेवा, स्टार्टअप प्रवर्द्धन, क्रिकेट सहकार्य तथा नेपालमा भारतीय शैक्षिक संस्थाको विस्तारलगायतका विषयमा चासो राखेको छ ।
नेपालले बाढीपछिको पुनर्निर्माणका लागि १ देखि २ अर्ब अमेरिकी डलरसम्मको सहयोग अपेक्षा गरेको समाचारमा उल्लेख छ । उक्त सहयोग अनुदान, ऋण वा सहुलियतपूर्ण ऋणको कुन स्वरूपमा उपलब्ध हुन्छ भन्ने विषय पनि वार्ताको महत्त्वपूर्ण पक्ष बन्ने देखिएको छ ।
नेपालले पोखरा र भैरहवा विमानस्थललाई पश्चिम भारतसँग जोड्ने नयाँ हवाई मार्गको माग गरिरहेको छ । यसले उडान दूरी र लागत घटाउँदै पर्यटन तथा अन्तर्राष्ट्रिय उडानको सम्भावना बढाउन सक्ने अपेक्षा छ ।
भारतले नेपालबाट दीर्घकालीन रूपमा विद्युत् आयात गर्ने समझदारीलाई ऊर्जा सम्बन्धको महत्त्वपूर्ण आधार मानेको छ । १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने लक्ष्य र सीमापार प्रसारण लाइन विस्तारलाई पनि दुई देशको आर्थिक साझेदारीको दीर्घकालीन रणनीतिका रूपमा हेरिएको छ ।
स्वागत र सद्भावसँगै रणनीतिक चासो
दि टाइम्स अफ इण्डियाले विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री शाहबीचको भेटलाई भारतले नेपालसँगको ‘विशेष मित्रता’लाई महत्त्व दिएको सन्देशका रूपमा प्रस्तुत गरेको छ ।
जयशंकरले नेपालसँगको ऐतिहासिक र विशेष सम्बन्धप्रति भारतको प्रतिबद्धता व्यक्त गर्दै मोदीसँगको भेटवार्ताका लागि शुभकामना दिनुभएको उल्लेख छ ।
तर, भारत र नेपालबीचको सम्बन्ध केवल मित्रता र सद्भावमा सीमित छैन । व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार र भूराजनीतिक प्रतिस्पर्धाका विषयले सम्बन्धलाई रणनीतिक महत्त्व दिएका छन् ।
सीमा विवाद र हवाई मार्ग : सम्बन्धका संवेदनशील पक्ष
एनडिटीभीले भ्रमणका आर्थिक तथा पूर्वाधार विषयसँगै भारत र नेपालबीचको सीमा विवादको पृष्ठभूमिलाई पनि उल्लेख गरेको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको विवाद तथा तेस्रो पक्षको संलग्नताबारे नेपालका विगतका अभिव्यक्तिपछि सम्बन्धमा असहजता उत्पन्न भएको प्रसंग समाचारमा समेटिएको छ ।
भारतले सीमा विवाद द्विपक्षीय संयन्त्रबाट समाधान गर्नुपर्ने धारणा राख्दै आएको छ । त्यस्तै, हवाई मार्गको विषयमा पनि दुई देशबीच पारस्परिक चासो छ । नेपालले पोखरा र भैरहवाबाट उडानका लागि थप हवाई मार्गको माग गरिरहेको छ ।
भारतले पनि सिलिगुडी क्षेत्रको रणनीतिक संवेदनशीलता र नेपाली हवाई क्षेत्रको पहुँचसँग सम्बन्धित विषयमा चासो राखेको समाचारहरूमा उल्लेख छ । यसले कनेक्टिभिटीको विषय आर्थिक सम्भावनासँगै सुरक्षा र रणनीतिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण रहेको देखाउँछ ।
नेपालको अपेक्षा र भारतको प्राथमिकता : कहाँ मिल्छ, कहाँ फरक छ ?
भारतका समाचार र टिप्पणीहरूलाई समग्रमा हेर्दा दुई देशका प्राथमिकता धेरै क्षेत्रमा मिल्दोजुल्दो देखिन्छन् । भारत ऊर्जा व्यापार, पूर्वाधार, रेल तथा सडक सञ्जाल, आर्थिक साझेदारी र आफ्नो छिमेकमा स्थिर सम्बन्ध चाहन्छ । नेपाल पनि ऊर्जा निर्यात, व्यापार सहजीकरण, लगानी, पर्यटन, हवाई कनेक्टिभिटी र बाढीपछिको पुनर्निर्माणमा भारतको सहयोग खोजिरहेको छ ।
तर, नेपालको प्राथमिकतामा तत्कालीन पुनर्निर्माण, अनुदानमा आधारित सहयोग, व्यापार घाटा कम गर्ने उपाय, नयाँ हवाई प्रवेशमार्ग र राष्ट्रिय हितसँग जोडिएका विषय छन् ।
भारतको प्राथमिकता भने दीर्घकालीन आर्थिक तथा ऊर्जा साझेदारी, सीमापार पूर्वाधार र रणनीतिक सम्बन्धलाई संस्थागत बनाउनेतर्फ देखिन्छ । यी प्राथमिकताबीच समानता भए पनि सहयोगको स्वरूप, सर्त र कार्यान्वयनमा नेपालले आफ्नो हित सुरक्षित गर्नुपर्ने चुनौती रहन्छ ।
विशेषगरी बाढीपछिको पुनर्निर्माणका लागि नेपालले ठूलो सहायता अपेक्षा गरेको अवस्थामा ऋण र अनुदानको अनुपात महत्त्वपूर्ण हुनेछ । पुनर्निर्माणमा थप ऋणले नेपालको सार्वजनिक वित्तमा दबाब बढाउन सक्छ ।
त्यसैले सहायता प्याकेजलाई केवल रकमका आधारमा नभई अनुदान, सहुलियतपूर्ण ऋण, परियोजनाको छनोट र कार्यान्वयनको समयसीमाका आधारमा मूल्यांकन गर्नुपर्ने आवश्यकता छ ।
प्रधानमन्त्रीको भ्रमण कार्यतालिका
मंसिर ७ अर्थात् नोभेम्बर २३ भ्रमणको महत्वपूर्ण दिन । राष्ट्रपति भवनमा औपचारिक स्वागत, राजघाटमा महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली, प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुनेछ भने त्यसलगत्तै द्विपक्षीय तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता, समझदारीपत्र आदानप्रदान तथा संयुक्त वक्तव्य जारी गरिनेछ ।
त्यसपछि भारतीय प्रधानमन्त्रीले दिवाभोजको आयोजना गर्नुहुनेछ । दिवाभोजपछि प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ । सो भेटपछि उहाँ साँझ नेपाल फर्कनुहुनेछ ।
उपलब्धिले भ्रमणको औचित्य स्थापित गर्ने
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई नेपालले केवल कूटनीतिक सद्भाव र औपचारिक सम्बन्ध विस्तारका रूपमा मात्र लिनु हुँदैन । विगतमा नेपालले भारतसँगका विभिन्न सम्झौता र परियोजनामा आफ्नो हित अपेक्षित रूपमा सुरक्षित गर्न नसकेको, कतिपय अवस्थामा सम्झौता कार्यान्वयनमा ढिलाइ र भारतीय पक्षको उदासीनता भोग्दै आएको सन्दर्भमा यस भ्रमणको महत्त्व अझ बढेको छ ।
महाकाली सन्धिदेखि पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको वर्षौँदेखिको अन्योल, माथिल्लो कर्णालीजस्ता ठूला आयोजना कार्यान्वयनमा देखिएको ढिलाइ र भारतीय पक्षको अटेरीपनले नेपालमा द्विपक्षीय सहकार्यको वास्तविक लाभबारे प्रश्न उठाउँदै आएको छ ।
राजनीतिक विश्लेषक तथा कतिपय दलका नेताहरूले पनि विगतका सम्झौतामा नेपालले अपेक्षित लाभ लिन नसकेको भन्दै नयाँ समझदारी गर्दा राष्ट्रिय हित र कार्यान्वयनको सुनिश्चिततालाई प्राथमिकता दिनुपर्ने आशंका व्यक्त गर्दै आएका छन् ।
त्यसैले प्रधानमन्त्री शाहको भारत भ्रमणको औचित्य केवल सम्बन्ध सुधारको सन्देशमा होइन, विगतका असमानता र अधुरा प्रतिबद्धतालाई सच्याउँदै ठोस उपलब्धि हासिल गर्न सक्नुमा स्थापित हुनेछ ।
बाढीपछिको पुनर्निर्माण सहायता, व्यापार तथा पारवहन सहजीकरण, हवाई मार्ग, ऊर्जा व्यापार र पूर्वाधारमा स्पष्ट प्रतिबद्धता, समयसीमा तथा कार्यान्वयन संयन्त्र सुनिश्चित गर्न सके भ्रमणले नयाँ विश्वास निर्माण गर्नेछ ।
नेपालले सद्भावलाई उपलब्धि, प्रतिबद्धतालाई कार्यान्वयन र सहकार्यलाई पारस्परिक लाभमा रूपान्तरण गर्न सके मात्रै यो भ्रमण औपचारिक कूटनीतिक कार्यक्रमभन्दा माथि उठेर नेपालको राष्ट्रिय हित र दीर्घकालीन आर्थिक साझेदारीको आधार बन्न सक्नेछ ।




प्रतिक्रिया राख्नुहोस्