जन सरोकार

भोटेकोशी–त्रिशूली विपद्मा ६२३ विदेशी नागरिक बेपत्ता भएको विवरण प्राप्त

भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ता विदेशी नागरिकमध्ये १९ देशका ६२३ जनाको विवरण सम्बन्धित देशका निकायबाट प्राप्त भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राप्त विवरणमा सबैभन्दा धेरै भारतका २१३ जना रहेका छन् । चीनका ८५, अमेरिकाका ६९, युक्रेन र मलेसियाका ५४–५४, अस्ट्रेलियाका ३३, बेलायतका ३२ र क्यानडाका २७ जना बेपत्ता नागरिकको विवरण प्राप्त भएको छ ।

त्यस्तै, रुसका ११, कोरिया र सिङ्गापुरका नौ–नौ, जर्मनीका आठ, दक्षिण अफ्रिकाका छ, फ्रान्सका चार तथा इटाली, हङ्गेरी, बेल्जियम र काजकिस्तानका दुई–दुई जना बेपत्ता नागरिकको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ । बेलारुसका एक जना नागरिकको विवरण पनि प्राप्त भएको छ ।

प्राधिकरणका अनुसार लाट्भिया, जापान, न्युजील्यान्ड, आयरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन, इस्टोनिया, फिनल्यान्ड, इजरायल, लिथुआनिया, फिलिपिन्स, स्विडेन, स्वीट्जरल्यान्ड र भियतनामलगायतका देशबाट भने विवरण प्राप्त हुन बाँकी रहेको छ ।

प्राधिकारणका  प्रमुख कार्यकारी डा धर्मराज उप्रेतीले सम्बन्धित देशका निकायबाट प्राप्त विवरणका आधारमा बेपत्ता नागरिकको विवरण अद्यावधिक गरिरहेको जानकारी दिनुभएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट बेपत्ता व्यक्तिलाई मृत्यु घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

समितिका अनुसार ४८ जिल्लाबाट एकिन भई आएका तीन हजार ९१५ नेपाली तथा सातवटा विदेशी नियोगबाट एकिन भई आएका ६२३ विदेशी नागरिकको विवरण प्राप्त भएको छ ।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्यु घोषणा गर्न सक्ने व्यवस्था छ ।

विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट प्राप्त सूचीका आधारमा प्राधिकरणले दाबी पेस गर्न दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.