हानेडा विमानस्थलको टर्मिनल–२ मा शौचालय बिग्रिएपछि यात्रुलाई सास्ती
विश्वका अत्यन्तै व्यस्त विमानस्थलमध्ये एक मानिने टोकियो हानेडा विमानस्थलका यात्रुहरूले शुक्रबार अत्यन्त असहज अवस्थाको सामना गर्नु परेको छ । टर्मिनल–२ का करिब ७० प्रतिशत शौचालयहरू प्रयोग बाहिर रहेका छन् ।
विमानस्थल सञ्चालनकर्ता संस्थाका प्रवक्ताले एएफपीलाई प्लम्बिङ समस्याका कारण टर्मिनल–२ का १४४ शौचालय क्षेत्रमध्ये ५१ वटा क्षेत्र अझै उपलब्ध नभएको पुष्टि गरे ।
जापान एयरपोर्ट टर्मिनलका प्रवक्ताका अनुसार सुविधालाई पानी आपूर्ति गर्ने पम्पहरूमा उत्पन्न भएका विद्युतीय समस्याका कारण शौचालयहरू एकपछि अर्को बन्द हुन पुगेका हुन् ।
प्रवक्ताले नाम नछाप्ने सर्तमा भने, “हाम्रा कर्मचारीहरूले बिहान ५ः०० बजे (बिहीबार २०ः०० जिएमटी) समस्या देखिएको जानकारी गराएका थिए । समस्या पूर्ण रूपमा समाधान गर्न करिब ११ घण्टा लाग्यो ।” उनका अनुसार हात धुने सिङ्कमा पानी उपलब्ध भए पनि धेरै शौचालयभित्र भने पानी नआएकाले प्रयोग असम्भव बनेको थियो ।
प्रवक्ताले भने, “हाम्रा कर्मचारीहरूले यात्रुहरूलाई शौचालय कसरी प्रयोग गर्ने भनेर निर्देशन दिइरहेका थिए । केही अवस्थामा कर्मचारीहरूले बाल्टिनमा पानी लिएर फ्लस गरिदिनुपरेको थियो ।”
यस घटनापछि यात्रुहरू सामाजिक सञ्जालमा आक्रोशित बनेका छन् । एक प्रयोगकर्ताले एक्समा लेखे, “म सुरक्षित रूपमा हानेडामा आइपुगेँ, तर शौचालय प्रयोग गर्न सकिँदैन । यो त आपतकालिन अवस्था जस्तै हो ।”
अर्का यात्रुले लेखे, “टर्मिनल–२ का अधिकांश शौचालयहरू अव्यवस्थित छन्… संवेदनशील पेट भएकाहरूका लागि यो निकै कठिन परिस्थिति हो ।”
तेस्रो यात्रुले हानेडा विमानस्थलको रेल स्टेशनसम्म शौचालयका लागि लामो लाइन देखिएको उल्लेख गर्दै ‘टर्मिनल–२ मा पूर्ण अराजकता’ रहेको दाबी गरे । विमानस्थल प्रशासनले समस्या समाधान भएको र यथाशीघ्र सबै सुविधाहरू सामान्य अवस्थामा फर्काइने आश्वासन दिएको छ ।





प्रतिक्रिया राख्नुहोस्