‘जेनजीसंगको सम्झौतापछि केही व्यहोर्नुपरे म व्यहोर्छु’ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरुसंग सरकारले सम्झौता गर्दा केही व्यहोर्नुपरे आफूले व्यहोर्ने भन्दै सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन निर्देशन दिनुभएको छ ।
शुक्रबार साँझ जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसंगको छलफलका क्रममा उहाँले सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिन निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतका अनुसार बैठककमा जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुङ्गो लगाउन आग्रह गरेपछि प्रधानमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको बैठकमा सरकारका अधिकारीहरूले जेनजीका तर्फबाट प्राप्त दस्तावेज अध्ययन गरी अन्तिम रूप दिने क्रममै रहेको बताएका थिए ।
प्रधानमन्त्री कार्कीले चाँडो टुङ्ग्याउन निर्देशन दिंदै यो विषय धेरै लम्ब्याउनु नहुने बताउँदै शनिबार, आइतबार दिनभर गरेर सोमबारभित्रमा अन्तिम रूप दिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सम्झौता गर्न धेरै दिन कुर्न सकिंदैन, हस्ताक्षर गरेकै कारणले केही व्यहोर्नुपरे म बेहोरौँला । मेरो सिङ्गो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ । यो राजनीतिक दस्तावेज हो । कर्मचारी प्रशासकहरूले चिन्ता लिनु पर्दैन ।”





प्रतिक्रिया राख्नुहोस्