राजनीति

‘अब देशकै नेतृत्व गर्नुपर्छ जस्तो लागेको छ’ : कुलमान

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताउनुभएको छ । उज्यालो नेपाल पार्टीको घोषणासभालाई बुधाबार सम्बोधन गर्दै उहाँले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताउनुभयो ।

सम्बोधनको क्रममा उहाँले नेपालमा पछिल्लो ७५ वर्षमा १५० भन्दा बढी सरकार बने पनि जनताले चाहेको आर्थिक समृद्धि नआएको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाउनुभयो ।

मन्त्री घिसिङले सही पात्र सक्रिय राजनीतिमा आउनुपर्नेमा जोड दिँदै उहाँले सही पार्टी र नेतृत्व चुन्ने बेला आएको बताउँदै भन्नुभयो, ‘मलाई पनि कहिलेकाहीँ अब यहाँबाट हिँडेपछि कतै जाने ठाउँ देखिँदैन, त्यसैले अब देशकै नेतृत्व गर्नुपर्छ जस्तो लागिराख्या छ।’

“नेपाल समृद्ध हुन धेरै बेर लाग्दैन । समृद्धिको आधार सुशासन हो, जेनजी आन्दोलनले भ्रष्टाचार मुक्त देशको विषय उठाएको हो । भ्रष्टाचार मुक्त देश बन्न सक्यो भने समृद्धितर्फ अघि बढ्छ ।”

राजनीतिमा जनविश्वास सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री घिसिङले विगतदेखिका निराशा र आक्रोश जेनजी आन्दोलनका रूपमा विस्फोट भएको तर्क गर्नुभयो ।

उहाँले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई अग्रगामी दिशामा लैजान वर्तमान सरकार केन्द्रित भइरहेको स्पष्ट पार्नुभयो ।

“आसन्न निर्वाचनले जेनजी परिवर्तनलाई संस्थागत गर्नेछ । अब परिर्तनको नेतृत्व नयाँ र विकल्प दिन सक्ने व्यक्तित्व, संस्था र पार्टीले गर्नुपर्छ”, मन्त्री घिसिङले भन्नुभयो, “यसका लागि आमजनसमुदायको भावनाअनुसार सबै बैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्छ । जस्तो सुकै परिस्थितिमा पनि एकताबद्ध भएर परिवर्तनलाई परिणाम दिने अवस्थामा लैजानुपर्छ ।”

पूर्वमन्त्री सुमना श्रेष्ठले बैकल्पिक शक्ति एकताबद्ध हुन नसक्दा निर्वाचनमार्फत पूरानै राजनीतिक दलहरू हाबी हुनसक्ने औँल्याउँदै अहिलेको अवस्थामा विकल्प दिन चाहने शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभयो ।

उज्यालो नेपाल पार्टीकी नेत्री रिमा विश्वकर्माले देश र जनताले परिणाम दिनसक्ने नेतृत्व खोजिरहेको जनाउँदै क्षमतावान् व्यक्तित्वले राजनीतिमा हस्तक्षेप बढाउनुपर्ने बताउनुभयो । त्यस क्रममा मन्त्री घिसिङले सो पार्टीको आधिकारिक वेवसाइट शुभारम्भ गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.