पोखरा विमानस्थल भ्रष्टाचार : पाँच पूर्वमन्त्री, निर्माण कम्पनीसहित ५६ जनाविरूद्ध मुद्दा दर्ता
मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण भएको पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै पाँच पूर्वमन्त्रीसहित ५६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणमा ८ अर्ब भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा ५५ जना र एक कम्पनीसहित ५६ प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
यसरी मुद्दा दर्ता हुने पूर्व मन्त्रीहरूमा पूर्वअर्थमन्त्री रामशरण महत, पूर्व पर्यटनमन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य र पोष्टबहादुर बोगटी हुनुहुन्छ ।
पूर्वमन्त्री तथा माओवादी नेता बोगटीको मृत्यु भइसकेका कारण उहाँकी श्रीमतीलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको छ।
विमानस्थलमा भ्रष्टाचार भएको भन्दै तत्कालीन प्रतिनिधिसभा अन्तर्गन सार्वजनिक लेखा समितिको उपसमितिले ११ वटा शीर्षकमा १० अर्ब रुपैयाँ हाराहारीमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो ।
पोखरा विमानस्थल निर्माणका लागि ८ चैत, २०७२ मा नेपाल(चीन सरकारबीच ऋण सम्झौता भएको थियो । एक अर्ब ३७ करोड युआन ऋण सम्झौता भएकोमा ३५ करोड ५९ लाख युआन निर्ब्याजी ऋण हो । बाँकीमा प्राधिकरणले २०९२ सालभित्र सावाँसमेत चुक्ता हुने गरी किस्ता तिर्नुपर्छ ।
सम्झौता हुँदाको विनिमय दरअनुसार, २२ अर्ब ६१ करोड रुपैयाँ ऋणमध्ये ५ अर्ब ८३ करोडको ब्याज तिर्नुपर्दैन । नेपालले चिनियाँ एक्जिम बैंकलाई ब्याजवापत मात्रै वार्षिक ८४ करोड रुपैयाँ तिर्नुपर्छ । अहिलेसम्म पोखरामा व्यवसायिक उडान भएको छैन ।





प्रतिक्रिया राख्नुहोस्