भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहे पनि व्यवस्थित प्रवर्द्धन नहुँदा यो क्षेत्रले अपेक्षित रूपमा पर्यटक तान्न नसकेको सरोकारवाला बताउँछन् ।
नयाँ वर्ष, चाडपर्व तथा विभिन्न अवसरमा वनभोज (पिकनिक) खान आउने आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको तावा भञ्ज्याङ पछिल्लो समय विस्तारै चिनिन थालेको छ । तर, दीर्घकालीन योजना, पूर्वाधार विकास र प्रचार रणनीति नहुँदा यसको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन ।
मनोरम दृश्यले भरिएको यो क्षेत्र भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लखर्क र खोटाङको साकेला गाउँपालिका–३ लाई जोड्ने महत्वपूर्णस्थल हो । हरियाली वन, खुला फाँट, स्वच्छ हावापानी र टेम्के–सेल्मेको काखमा अवस्थित यस भञ्ज्याङले जो–कोही पर्यटकलाई आकर्षित गर्ने स्थानीय बताउँछन् ।
दुई जिल्लाको सिमानामा पर्ने यस क्षेत्रमा साकेला गाउँपालिकाले पछिल्लो समय विभिन्न भौतिक संरचना निर्माण गर्नुका साथै चियाखेतीको विस्तार सुरु गरेको छ । चिया बगान, खुला पार्क र प्राकृतिक दृश्यले तावा भञ्ज्याङको सौन्दर्य अझ बढाएको स्थानीयको भनाइ छ ।
तावा भञ्ज्याङ नेपाल सरकारको ‘घुम्नै पर्ने सय गन्तव्य’ सूचीमा समावेश मुन्दुम पदमार्गको सुरु विन्दुसमेत भएकाले यसको ऐतिहासिक र सांस्कृतिक महत्व पनि उत्तिकै छ । यति महत्वपूर्ण पहिचान हुँदाहुँदै पनि प्रचार–प्रसारको कमीका कारण अपेक्षित सङ्ख्यामा पर्यटक भित्रिन नसकेको सरोकारवालाको गुनासो छ ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले तावा भञ्ज्याङ टेम्के–सेल्मेको काखमा अवस्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यसको प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।
“यो क्षेत्रमा भरपूर पर्यटकीय सम्भावना रहेको देखिन्छ”, उहाँले भन्नुभयो, “केही संरचना निर्माणसँगै चियाखेती विस्तार भइरहेको छ, स्थानीय तह, निजी क्षेत्र र सरोकारवाला निकाय मिलेर काम गर्नसके यो क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।”
स्थानीयका अनुसार दावाभञ्ज्याङ र पाँचधारे क्षेत्र भोजपुर र खोटाङबीच लेकबेँसी कृषिउपजको विनिमय हुने प्रमुख केन्द्रका रूपमा परिचित छ । यहाँ महिनामा दुई पटक पाँचधारे बजार लाग्ने गर्दछ ।
फराकिला डाँडाकाँडा, रमणीय भू–दृश्य र प्रशस्त पर्यटकीय सम्भावना भएकाले पाँचधारे तथा तावा भञ्ज्याङलाई जोडेर दुई जिल्लाकै साझा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय जानकारको भनाइ छ ।
प्राकृतिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण तावा भञ्ज्याङ र पाँचधारे क्षेत्रको व्यवस्थित विकास र प्रभावकारी प्रचार–प्रसार गर्नसके भोजपुर तथा खोटाङ दुवै जिल्लाको पर्यटन विकासमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया राख्नुहोस्