भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले पहिलो जित दर्ता गरेको छ । कीर्तिमानले भरिएको खेलमा हैदराबादले मुम्बईलाई इन्डियन्सलाई ३१ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा मुम्बईको यो लगातार दोस्रो हार हो ।
हैदराबादको घरेलु मैदान राजिव गान्धि क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो । उक्त लक्ष्य आइपिएल इतिहासमा एकै इनिङमा बनेको सर्वाधिक उच्च रन स्कोर हो । यसअघि २०१३ मा रोयल च्यालेन्जर्स बैंगलोरले पुने वारियर्स इन्डियाविरुद्ध २६३ रन बनाएको थियो ।
यी दुई टोलीबीचको खेलले टी-२० इतिहासमा एकै खेलमा बनेको सर्वाधिक रनको कीर्तिमान पनि बनायो । खेलमा दुबै इनिङमा गरी कुल ५ सय २३ रन बनेको थियो । त्यसैगरी यस खेलमा कुल ३८ छक्का प्रहार भएको थियो, जुन कुनै पनि टी-२० खेलमा सर्वाधिक छक्काको कीर्तिमान हो । हैदराबादका लागि ट्रेभिस हेड, अभिषेक शर्मा र हेनरिक क्लासेनले अर्धशतक प्रहार गरे । शर्माले २३ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ६३ रन बनाए भने हेडले २४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ६२ रन बनाउदा क्लेसनले ३४ बलमा ४ चौका र ७ छक्काको मद्दतमा ८० रनमा अविजित रहे ।
त्यस्तै एडेन माक्ररमले २८ बलमा २ चौका र १ छक्काको सहयोगमा ४२ रनमा नट आउट रहे । क्लेसन र माकरमले चौथो विकेटका लागि १ सय १६ रनको शतकीय साझेदारी गरे । मुम्बईका लागि हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाको नाममा १-१ विकेट रह्यो।
२७९ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै २४६ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक वर्माले ३४ बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ६४ रनको अर्धशतकीय पारी खेले भने टिम डेभिडले २२ बलमा ४२ रनमा अविजित रहे । यस्तै इशान किसनले ३४ रन बनाई आउट भए भने नमन धिरले ३० रन जोड्दा रोहित शर्माले २६, हार्दिक पाण्ड्याले २४ र रोमारियो सेफार्डले १५ रन बनाए ।
हैदराबादका लागि जयदेव उनाडकर्ड र कप्तान प्याट कुमिन्सले दुई दुई विकेट लिँदा एक विकेट शाहबाज अहम्मदले लिए । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार ७:४५ बजे राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स जैपुरमा भिड्दै छन् ।




प्रतिक्रिया राख्नुहोस्