जन सरोकार

तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पुर्याउन कटुवाल राख्ने चलन थियो । मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचमा पर्ने अलि अग्लो डाँडामा गएर कटुवाल कराएपछि त्यसैलाई गाउँलेले आधिकारिक सूचना मान्ने चलन थियो । उक्त चलन अब भने केही ठाउँमा मात्र कायम छ ।

कटुवाल पेसा धान्दै मनबहादुर

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ स्थित माइकोट कोर्थोकका मनबहादुर दर्जीले कटुवाल पेसा गर्दै आउनुभएको करिब तीन दशकभन्दा बढी भइसक्यो । हजुरबुबा र बुबाले गरेको पेसालाई पछ्याउँदै उहाँ पनि उमेरमै कटुवाल पेसामा जोडिनुभयो ।

माइकोट मन्दिरमा गरिने विशेष पूजा र मेला पर्व परेपछि मनबहादुर एकदुई दिनअघि नै हातमा माइक बोकेर गाउँका डाँडाडाँडामा पुगेर कराउनुहुन्छ । गाउँको खबर गाउँलेका घरघरमा पुर्याउनुहुन्छ । उहाँलाई कटुवाल कराउने दिन जहिले बिहानै हतार भइसकेको हुन्छ । पूरै गाउँ डुलेर कटुवाल कराएर घर फर्कदा साँझ पर्ने भएकाले पनि बिहान सकभर ६ बजे नै निस्किने गरेको मनबहादुर बताउनुहुन्छ ।

“गाउँको उल्टे, बाँकोट, मैलुम हुँदै भालुस्वाँरसम्म एकैदिन हिँडेरै ११ ठाउँमा पुगेर कटुवाल कराउनुपर्छ”, उहाँले भन्नुभयो, “बिहान चाँडै उठेन भने भ्याउन मुस्किल पर्छ ।”

मनबहादुरको कटुवाल पेसा मात्रै पुरानो होइन । उहाँले पाउने पारिश्रमिक पनि अझैसम्म पहिलाकै छ । “हाम्रो परिवारको म मात्र होइन, तीन पुस्तादेखि नै कटुवाल पेसा गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “बाजेले गरे, बाउले गरे अहिले मैले पनि गर्दैछु ।” कटुवाल कराएबापत मनबहादुरले गाउँका सबै घरबाट गरेर वर्षमा करिब–करिब चार मुरी जति कोदो र दसैँमा प्रत्येक घरबाट एक भाग खानेकुरा पाउनुहुन्छ ।

“गाउँलेले घरैपिच्छे वार्षिक चार मानाका दरले कोदो दिन्छन्”, मनबहादुरले भन्नुभयो, “त्यहीँ खायो, काम ग¥यो ।” चैतेपूजा, कात्तिके पूजालगायतका पूजा पर्वमा कटुवाल प्रथासँगै राँगो बोका खोज्ने जिम्मा पनि आफ्नै हुने उहाँको भनाइ छ ।

“मूल्य निर्धारण समितिले मूल्य तय गरेर पैसा दिनुहुन्छ”, मनबहादुरले भन्नुभयो, “त्यसैअनुसारले गाउँ डुलेर राँगा, बोका खोज्ने काम पनि मेरै हुन्छ ।”

पुरानो कटुवाल पेसाले आफ्नो परिवारको गुजारा जसोतसो चलेको मनबहादुर बताउनुहुन्छ । “अन्त गएर जागिर खाएको भए त पेन्सन भइसक्थ्यो”, उहाँले भन्नुभयो, “यही पेसाले नै परिवार पालेको छु ।” लामो समयदेखि कटुवाल गर्दै आउनुभएका उहाँलाई आजभोलि भने अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ ।

“वर्षमा अन्नबापत जति आउँछ बरु त्यही अनुसारको पैसा दिए राम्रो हुन्थ्यो”, मनबहादुरले भन्नुभयो, “अहिले त वर्षमा करिब चार मुरी जति कोदो कटुवाल गरेर सङ्कलन गर्ने गरेको छु ।” कटुवाल पेसा गरेरै गाउँलेको सेवा गर्न पाएकामा उहाँ गर्व गर्नुहुन्छ । गाउँलेले आफ्नो कुरा सुन्ने र मान्ने गरेकामा पनि खुसी लाग्ने गरेको मनबहादुर बताउनुहुन्छ ।

“पूजाआजाका दिन मैले कटुवाल कराएपछि गाउँलेले घरमा पूजाका लागि घूप, अक्षेता उठाएर मन्दिरमा ल्याउँछन्,” उहाँले भन्नुभयो, “त्यो दिन खनजोत, गोडमेलको काम छ भने पनि थाँती राखेर आउँछन् ।” पछिल्लो समय भने गाउँलेले उपलब्ध गराएको माइक लगाएर बोल्न पाएपछि अलि सजिलो हुन थालेको मनबहादुरको भनाइ छ ।

गाउँपालिकाको तालकोटस्थित प्रसिद्ध माइकोट मन्दिरमा विभिन्न समयमा सञ्चालन हुने पूजाआजाका लागि गाउँलेलाई जानकारी दिन त्यहाँ कटुवाल राख्ने चलन रहँदै आएको बारपाक सुलिकोट गाउँपालिकाका प्रवक्ता जीतबहादुर नेपाली बताउनुहुन्छ ।

“माइकोट मन्दिरमा विशेष पूजाआजा गर्दा गाउँका सबैले पूजा बार्ने चलन अहिले पनि छ”, उहाँले भन्नुभयो, “उक्त मन्दिरमा कात्तिके पूजा, चैते पूजा, दसैँको पूजालगायतका मेला पर्वलाई लक्षित गरी दुई कटुवाल राख्ने यहाँको पुुरानो परम्परा हो ।” मन्दिरमा पूजाआजाको सूचना दिन अहिले पनि कटुवाललाई जिम्मेवारी दिइँदै आएको नेपाली बताउनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.