रोयल च्यालेन्जर्स बेंगलुरुले २२८ रनको लक्ष्य पूरा गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको पहिलो क्वालिफायरमा पुगेको छ । मंगलबार राति भएको खेलमा लखनउ सुपर जान्ट्सलाई ६ विकेटले पराजित गर्दै बेंगलुरुले पहिलो क्वालिफायरमा स्था पक्का गरेको हो ।
लखनउको घरेलु मैदान भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले कप्तान रिषभ पन्तको अविजित शतक मद्दतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । लखनउको लागि कप्तान पन्तले ६१ बलमा ११ चौका र ८ छक्काको मद्दतमा अविजित रहँदै १ सय १८ रनको शतकीय पारी खेले भने मिचेल मार्शले ३७ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ६७ रन बनाए ।
बेंगलुरुका लागि नुवान थुसारा, रोमारियो शेपहर्ड र भुवनेश्वर कुमारले समान १-१ विकेट लिए । लखनउले प्रस्तुत गरेको २ सय २८ रनको लक्ष्य बेंगलुरुले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुका लागि निमित्त कप्तान जितेश शर्माले ३३ बलमा ८ चौका र ६ छक्काको मद्दतमा अविजित रहँदै ८५ रनको अर्धशतकीय पारी खेले भने विराट कोहलीले ५४ रन बनाए ।
त्यस्तै मयांक अग्रवाल ४१ रनमा अविजित रहँदा फिल साल्टले ३० रन बनाए । लखनउका लागि विलियम ओ’रुर्कले दुई विकेट लिए भने आवेश खान र आकाश सिंहको भागमा समान १-१ विकेट रह्यो ।
बेंगलुरुले १४ खेलमा १९ अंक जोड्दै नेट रनरेटमा पञ्जाबभन्दा पछाडि रहँदै पहिलो क्वालिफायरमा प्रवेश गरेको हो । अब पहिलो क्वालिफायरमा पञ्जाब किंग्स र बेंगलुरु तथा इलिमिनेटरमा गुजरात टाइटान्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।





प्रतिक्रिया राख्नुहोस्