“सद्दे मुलुक भत्काउन खोज्ने” तपाई, म र हामी नै हैन र !
म कनकमणि दीक्षितको फ्यान हूँ। देखेसम्म मैले वहाँको कुनै पनि लेख पढ्न छुटाउदिन। अस्ती भर्खर उहाँको लेख नेपालखबर डट कममा पढ्ने मौका पाएँ ।
त्यो लामो लेखको शीर्षक थियो “सद्दे मुलुक भत्काउन खोज्ने को ? बचाउने कसरी ? निर्वाचन नहुने हो भने नाङ्गो विदेशी हस्तक्षेप हुन्छ या सैनिक शासन ? या दुईको सम्मिश्रण” ! गत भदौ २३ गतेको ‘जेन-जी’ आन्दोलन र त्यसले ल्याएको भूमरीको बारेमा गहिराइमै पुगेर विश्लेषण गर्न खोज्नु भएको छ यो लेखमा।
विषेशतः भदौ २३ र २४ लाई एउटै नजरबाट हेर्नु नहुने विषयलाई उठान गर्दै तीनवटा छुट्टाछुट्टै घटनाको शृङ्खलालाई विष्लेषण गर्न कोशिस गर्नुभएको छ।
जस्मा- पहिलो, ‘जेन-जी’ समूहले बोलाएको लगभग ८ देखि ११ बजेसम्मको धर्ना।
दोस्रो, संसद् भवनतर्फको र्या-ली र सहभागीमाथि बर्सेको गोली।
तेस्रो, भोलिपल्टको देशव्यापी निजी र राष्ट्रिय सम्पत्तिमाथिको लुट र आगजनी, सर्वत्र त्रास । यो पढ्दै गर्दा मलाई भगवद्गीता ६.९ मा लेखिएको यो श्लोक सम्झना आयो।
सुहृन्मित्रार्युदासीनमध्यस्थद्वेष्यबन्धुषु ।
साधुष्वपि च पापेषु समबुद्धिर्विशिष्यते ॥
अर्थात- जो व्यक्ति सुहृद (मित्र), शत्रु, उदासीन, मध्यस्थ, द्वेषी, बन्धु, सज्जन र दुष्ट— सबैमा समान बुद्धि राख्छ, ऊ अत्यन्त उत्कृष्ट हुन्छ।- समभाव (निष्पक्ष दृष्टि) नै श्रेष्ठताको चिन्ह हो।
यदि भदौ २३ र २४ को घटनाको बारेमा देख्नेले, लेख लेख्ने वा पाठक नै समभावले विश्लेषण गर्न चुक्यो भने सायद यो जुनिमा ठुलो पाप कमाइने छ।
हामी सबै आम-मानिस हौं। सबैका आ-आफ्नै तर्क, आ-आफ्नै झुकाव र आ-आफ्नै ज्ञानको भण्डार भएका छौ। म पनि यो जमातबाट एक बित्ता पनि माथि उठ्न नसकुँला, तर पनि नर्कको पोखरीभित्र सकेसम्म नपरियोस भन्ने हेक्का राख्दै निष्पक्ष दृष्टि दिन कोशिस गरेको छु।
सबैभन्दा पहिलो कुरा नै जराबाट सुरु गरौं। किन ‘जेन-जी’ उमेर समूहका युवाहरुलाई सडकमा आउनुपर्ने बाध्यता भयो ? यस्को उत्तर आम जनसमुदायलाई चित्त बुझ्ने तरिकाले जेन-जी’ उमेर समूहका युवाहरुले त संचार माध्यममा प्रष्टै भनेका छन् कि सडमा पछारिनु पर्ने मुख्य कारण भनेकै सामाजिक सञ्जाल खुलाउनु पहिलो प्राथमिक शर्त थियो भने कुशासन अन्त्य र भ्रष्टाचारी बिरुद्ध कारबाही होस भन्ने दोश्रो सर्त थियो।
तर, तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली र आम जनसमुदायले नसोचेको बिध्वंश भयो। के यो साँच्चीकै नसोचेकै हो त ? के कारणले यस्तो परिणाम हुन गयो ? के साँच्चीकै तत्कालीन सरकार प्रमुख, प्रहरी प्रशासन र राष्ट्रको इन्टेलिजेन्स एजेन्सीलाई यस्तो हुन्छ वा हुँदैछ भन्ने थाहा नै नभएको हो त ? तर म यो पत्याउनै सक्दिन।
यत्रो देश चलाउने प्रधानमन्त्री, त्यत्रा बिद्वान सल्लाहाकार राखेका थिए। प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले त लल्कारिरहेका थिए यो सरकार ढल्छ जताततै आगो लाग्छ भनेर ! विचार विष्लेषक सौरभ र भविष्यबेत्ता ज्योतिषिहरुले पनि भनिराखैकै हुन्। यहाँ कुनै कुरा छुपेकै थिएन। गएको वर्ष चैत्र महिनामा तीनकुनेमा एउटा राम्रै रिहर्सल भएको कुरा कसैले बिर्सेका थिएनन्।
यथाकर्म तथा श्रुतिं लोकोऽयं प्राप्यते नरः ।
शुभं वा यदि वा पापं तद्भवत्येव देहिनाम् ॥
जस्को अर्थ हो- “मानवले आफ्ना कर्मअनुसार नै फल प्राप्त गर्छ। शुभ कर्मले शुभ फल र पापकर्मले पाप फल दिन्छ।”
पूर्व ए डिभिजन फुटबल खेलाडी, कमेन्टेटर र टेलिभिजन प्रस्तोता, नेपालकै पहिलो साहित्यिक रियालिटी शो ‘द पोएट आइडल’ का परिकल्पनाकार तथा निर्देशक अमनप्रताप अधिकारी, चलचित्र निर्माता निश्चल बस्नेत, दिपक गिरि तथा पाइलट क्यापटेन विजय लामा सबै देश जलेको कति खुसी हो भनेर भिडियो सामाजिक संजालमा भाइरल बनाइरहेको छ। अझ अर्को तर्फ हजारौ मानिसलाई आँखाको ज्योती दिने डा. सन्दूक रुइतलाई त बारबारा फाउण्डेसन र हामी नेपालको सुदन गुरूङलाई लेण्डलुप, एउटा महानगरको मेयरलाई अदृष्य नकारात्मक शक्ति !
किन सेनाले प्रधानमन्त्री र मन्त्रीलाई सुरक्षा दिने नाममा हातको मोबाइल थुतेर नजरबन्द अवस्थामा राख्यो ?
२४ को विध्वंश पहिचान गर्न र रोक्न सेनाको गुप्तचर विभाग (डीएमआई) र परिचालन विभाग (डीजीएमओ) कसरी चुके ? वा पाइएको सूचना लुकाइयो ??
सरकारको मुख्यालय र सर्वोच्च अदालतलाई सुरक्षा दिन नसक्ने सेनाले किन मन्त्री र न्यायाधीशलाई भगाउने मात्र आफ्नो दायित्व सोच्यो ? यी सबैको उत्तर एउटै हो “मानवले आफ्ना कर्मअनुसार नै फल प्राप्त गर्छ। शुभ कर्मले शुभ फल र पापकर्मले पाप फल दिन्छ।”
हामी सारा नेपालीले पापैपाप गरेका थियौं र त हाम्रा साना छोराछोरी मारिए। हाम्रो ब्यक्तिगत सम्पति र सार्वजनिक सम्पलत जलाइयो। अहिले हामी सबैले आ-आफ्नो पाप र लाज ढाक्नको लागि घरि नेतालाई, घरि बालेनलाई, घरि जेन-जीलाई घरि रविलाई घरि भारत, घरि अमेरिका, घरि दलाई लामा, घरि डाक्टर रुइत, घरि को घरि को गरेर बर्बराएका छौ। तर आफैलाई दोष दिने ठाउँ नै देख्दैनौं।
हामी खुब अमेरिका र भारतकै गफ लडाउँछौ। त्यही अमेरिका र भारतमा १९९० ताकादेखि अहिलेसम्म कति राष्ट्रपति आए-गए। हामीले कति त्यस्ता अनुहार परिवर्तन गर्यौ। त्यहाँका जनताले कुनै अनुहार तेहेर्याएका छन् त ? तपाईले आफ्नै छातीमा हात राखेर भन्नुहोस् त एउटै पार्टीको चिन्हमा यो १९९० पछि कतिपटक गोप्य मत दिनुभयो?
३ करोड नेपालीहरुका बीचमा नेताको खडेरी परेको रहेछ र हामीले ७० बर्ष कटेकालाई नै पार्टी अध्यक्ष मान्नै पर्ने गरी बिधान संशोधन गर्नुपर्ने बाध्यता पर्यो। अनि हाम्रो देश नजले कस्को देश जल्दछ?
नेताको हातको मोबाइल थुतेर नजरबन्द अवस्थामा राख्ने प्रधान सेनापतिलाई छान्ने हाम्रै संयन्त्र हैन? इन्टलिजेन्सीलाई संचालन गर्ने हाम्रै संयन्त्र हैन र। बारबारा फाउण्डेसनले समाज कल्याण परिषदबाट अनुमति नलिइ केही काम गरेको थियो र? हामी नेपाली भन्ने संस्थाले कुनै अनुमती नलिई केही काम गरेको थियो र? बौद्धमा तिब्बतीयन शरणार्थीले उधुम मच्चाएका छन् र फ्रि-तिब्बत क्रियाकलाप नभएको भन्ने के नयाँ कुरा हो र?
“सद्दे मुलुक भत्काउन खोज्ने को? भन्ने कनक दाईको प्रश्नको उत्तर यहीनेर खोज्नु पर्दछ। हामी खालि अरुलाई दोष दिने ? हामी सारा ३ करोड नेपालीले नै यो देश भत्काउन खोजेको हैन र ? जस्ले यो देश बनाउन खोज्दछ या त उ बाबुराम बबुरो बन्दछ, या त नकरात्मक शक्तिको पिचास बन्दछ, या त उ, उखाने टुखाने ३ पाङ्रे अहङ्कारी बन्दछ, या त भारतीय वा अमेरिकी एजेण्ट बन्दछ, या त तिब्बतीयन शरणार्थी बन्दछ। अब को छ बाँकी हामीले दोष लगाउने? यति बिधि सकिँदा पनि हाम्रो होस आएको छैन!
हिजो हामीले नै दुर्गा जन्माएको हो कि हैन? के उ फुत्त अर्को ग्रहबाट आएको हो र? हिजो हाम्रो कारणले नै एउटा र्यापरले आफ्नो पेशा छाडेर मेयर हुन आउन परेको हैन? के ऊ हिजो नकरात्मक शक्तिकै कारण अत्यधिक मतले बिजयी भएको हो र? के एउटा आँखाकै डाक्टरले एनजिओ चलाएको भरमा देश विदेशीको हातमा परेको हो र?
के हिजो श्रीपेच लगाउनेले लुसुक्क जनताको नासो जनतालाई नै दिए नभनेर गएको हैन र? कसैको विश्वासमा सजिलै धर्म हटाएको हैन यहाँ ? यहाँ सबै प्रष्ट छ त ! यहाँ कोही कसैले जादु, टुनामुना तथा आविष्कार गरेको त छैन। यहाँ कुनै अदृष्य शक्ति त देख्दिनँ म।
अझै हामी भन्दैछौ “सद्दे मुलुक भत्काउन खोज्ने को ? ब्यापरीले खुरु-खुरु आफ्नो ब्यापार नगरि किन सासंद हुन आउने? देश बनाउन त्यत्रो धेरै धोकै हो भने खुरु-खुरु पैसा कमाउ र देशमा सेवा प्रदान गर। पैसा धेरै भएको भए सबै सरकारी विद्यालयलाई पाठ्यपुस्तक, पुस्तकालय, अस्पताल बनाएरदिए हुन्छ नि। २० लाखजना लेबी तिर्ने सक्रिय कार्यकर्ता भएको पार्टीलाई किन करोडौको घर बनाइदिनु पर्यो तिमीले ? एकपटक जनताले अविश्वास गरेर हराएपछि खुरुक्क आफू पछिआउनेलाई बाटो छोडेर आफ्नो पेशातिर लाग्नु नि, किन ढुकेर अर्काको बाटो कुरेको ? अनि म, तपाई र समग्र हामी आम जनता तिनैलाई गोप्य मत दिएका हैनौ र? अनि भनौ त सद्दे मुलुक भत्काउन खोज्ने हामी कि अरु??
मलाई पनि रिस उठेको छ, मेरो सनातन धर्म लुट्ने यो संसद भवन किन चाहियो मलाई? अर्कोलाई रिस उठ्यो होला मेरो जग्गा खाने त्यो मालपोत किन चाहियो? अर्कोलाई रिस उठको होला मलाई अन्याय गर्ने अदालत किन चाहियो? अर्कोलाई रिस उठको होला मलाई पार्टीमा हराउने यो नेताको घर किन चाहियो? यस्तै यस्तै ता होला नि हैन र?। यसरी नै हामी-हामी लडेर यस्तो अवस्था आएको हैन र?
शिक्षक आन्दोलन कसरी तुहियो ? शिक्षा सुधार गर्न खोज्दा कसरी मन्त्री हटाइयो ? भ्रष्टाचार, नातावाद, कृपावाद, कुशासनको ताण्डव मच्चिदा नागरिक समाज कता गयो ? उनीहरुको अभियान किन सेलायो ? के प्रश्न आफ्नो प्रतिकूल अवस्थामा मात्र उठाउने हो ? सग्लो देशको हितमा प्रश्न उठाउने मुलुकमारा हुन् ? जसले जे नहुनुबाट रोक्न सक्थ्यो उनीहरु समय छँदासम्म मौन अनि देश कसले बचाउने भनेर प्रश्न मात्र गरिरहने, युटुबमा आरोपित गरिरहने क्रमले मुलुकलाई निकास दिंदैन झन् आक्रोश बढाउँछ ?
कनक दाईले भन्नुभयो- बचाउने कसरी? यो मुलुक सिरिया वा अफगानिस्तान वा पाकिस्तान जे भने पनि असफल हुनबाट बचाउनको लागि सबैभन्दा जिम्मेवारी हामी सर्वसाधारण आम जनसमुदाय नै हुनु पर्दछ। राजनैतिक प्रणालीका आफै केही मात्रमा कमजोरी होला तर देशै बिगार्ने गरी कमजोरी हुँदैन। सबैभन्दा पहिला हामी सच्चिनुपर्यो। शिक्षक पढाउ, ब्यापारी ब्यापार गर, वैज्ञानिक आविष्कार गर, विद्यार्थी पढ, मजदुर मजदुरी गर, नेता जनताले भोट दिइन्जेल समाज सेवा गर हार्दाको दिनदेखि आफ्नो नीजि ब्यवसायमा लाग त्यही झुण्डिएर नबस। एकैजना पनि किन नहोस् कसैको भावनासँग खेल्न हुँदैन। धर्म, पेशा, संस्कार, जात/जाती, लिङ्ग र अपनत्वमा सबैको समान अधिकार हुन्छ।
निर्वाचन अनिवार्य शर्त हो जस्मा राजा मान्ने, राजा नमान्ने, धर्म मान्ने, धर्म नमान्ने, प्रजातन्त्र मान्ने वा प्रजातन्त्र नमान्ने सबै अटाउने हुनु पर्दछ।
तसर्थ अन्तमा महाभारतको शान्तिपर्व २५२.५ को श्लोक अनुसार
समं सर्वेषु भूतेषु तिष्ठन्तं परमेश्वरम् ।
विनश्यति न स तत्समीक्ष्य लोभादिभिर्वृतः ॥
जस्को अर्थ हो- जो व्यक्ति सबै प्राणीहरूमा परमेश्वरलाई समान रूपमा देख्दैन र लोभ, द्वेष आदि कारणले भ्रमित हुन्छ, ऊ विनाश (अनर्थ) तिर जान्छ र उस्ले देशलाई पनि अनर्थ तिर धकेल्छ।
धन्यवाद !





प्रतिक्रिया राख्नुहोस्