समानताको दार्शनिक महत्व बोकेको म्हः पूजा
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार ईश्वरीय आराधना, प्रकृति र मानिस स्वयंको पूजा गरी आत्मशान्ति, प्राकृतिक सन्तुलन, शारीरिक सवलता र समृद्धिको कामना गरी मनाइन्छ । यमराजले विश्राम लिने पाँच दिन ‘यमपञ्चक’का हरेक दिनको विशेष महत्व छ र यी पाँचदिनमा पाँच किसिमको उत्सव मनाइन्छ ।
मनोरम प्राकृतिक वातावरणमा मनाइने तिहार फूल, दीप र दिदी भाई तथा दाजु बहिनी अनि पशु पक्षी र मानवको सम्बन्धका विविध पक्षको विशेषताले भरिपूर्ण छ । नेपालमा विभिन्न समुदायले आआफ्नै किसिमले विशेष महत्वका साथ तिहार मनाउँछन् । तिहारको अति महत्वपूर्ण तीन दिनमा लक्ष्मीपूजा, म्हः पूजा र भाइटीका पर्दछ ।
म्हः पूजा सबै जातजातिले गर्दैनन् । यो नेवार समुदायमा मात्र केन्द्रित छ । तिहारको चौथो दिन गोवद्र्धन पूजाका दिन नेवार समुदायले आफ्नो शरीरको पूजा अर्थात् म्हः पूजा गर्ने गर्दछन् । शास्त्रले मानिसको आत्मालाई ईश्वर मान्छ र आत्मा बोक्ने शरीर परमात्मा हो भनिन्छ । त्यसकारण आफ्नो शरीरभित्र रहेको ईश्वरको पूजा गरेपछि शारीरिक कष्ट नहुने विश्वास छ ।
तिहारलाई यमराजको पाँच दिन मानिन्छ । त्यसकारण यो अवधिलाई यमपञ्चक पनि भनिन्छ । यही तिहार अर्थात् यमपञ्चको चौथो दिन अर्थात् कार्तिक शुल्क प्रतिपदा नेवार समुदायको नयाँ वर्ष पनि हो । यो दिनमा उनीहरु आफ्नो शरीर (म्हः)पूजा गर्ने गर्दछन् ।
शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हः पूजाको दिन शरीरलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । यसो गर्दा वर्षभरि शरीरमा चोटपटक नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास छ । यो पूजा देवता र पशुपक्षीलाई पनि गर्ने चलन छ ।
आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता, ऊर्जाशक्ति, विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफैँ अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ ।
म्हः पूजाको बिधि
म्हः पूजा गर्न सर्वप्रथम घरको बुइँगलमा अथवा घरको कुनै खुला ठाउँमा पूर्व वा पश्चिम फर्केर बस्ने गरी लामो सुकुल वा लम्पट बिछ्याइन्छ । सबैभन्दा माथि देवताको लागि मण्डल लेखिन्छ र बायाँतिर परवारका सबै सदस्यका लागि छुट्टाछुट्टै मण्डल लेखिन्छ । यस बाहेक पानीले भरिएको गाग्री, नाङ्लो र कुचोको लागि पनि मण्डल बनाइन्छ ।
मण्डलमा खाने तेलका सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भट्मास, मासको गेडा, धान, बेसारले रंगाइएको चामलको पीठो, त्यसपछि पानी र रंगिविरंगी फूलका घेरा हालिन्छ । साथै विभिन्न जातका फलफूल, धुप, जंजंका (यज्ञोपवित) आदि सामग्रीहरुले पनि मण्डल सजाइन्छ ।
यसपछि परिवारका सबै सदस्यहरु आआफ्नो मण्डलको सामुन्ने पलेटी कसेर बस्छन् र परिवारको सबभन्दा जेष्ठ महिला, जसलाई नेवारी भाषामा नकीँ भनिन्छ,ले दायाँ हात निकाली पछ्यौरा लगाउँछिन् । सुकुन्दा बाल्छिन् अनि पूजाथाली र दही उठाई सबैलाई ढोगाउँछिन् ।
त्यसपछि एउटा हातमा फूल लिई दही निकालेर पूजाथालीमा चामल, फूल र रातो टीका मुछेर सूर्यरुपी सुकुन्दा र गणेशको पूजा गरेर सो टीका र जजंका लगाइदिन्छिन् । त्यस्तै कलश, नाङ्लो र कुचोको पनि पूजा गर्छिन् । अनि आफूले टीका लगाएर लहरै सबैलाई पहेंलो, रातो सिम्रिक र दही मुछेको टीका लगाइदिन्छिन् ।
त्यसपछि सबैले आआफ्नो मण्डल आफैँले पूजा गर्छन् अनि माथि, तल, अगाडि, पछाडि, टाउकोमाथि आकाशमा पूजा गर्छन् । कपडाको बत्ती (खेलु इताः) मण्डलमाथि बालिन्छ । बालिएको दिप्तमान भइरहेको मण्डलको पूजा गरी नकीँले भाग राखेको अक्षताले पूजा गरी सबैलाई दिन्छिन् । यसलाई ‘सिसगं’ भनिन्छ । सबैले यसमा भएको जजंका, फलफूल र फूल लगाउँछन् ।
सिसगंपछि तयार गरेर राखेको सगुन, जसमा अण्डा, बारा, माछा, मासु र रक्सी आदि सबैलाई पालैपालो दिइन्छ । सबैले एकैपटक सगुन जुठो हाल्नुपर्छ । यसबेला सबै सानाले ठूलालाई ढोग्ने चलन छ ।
सगुन सकिएपछि दही, चाक्सी र केरा मिसाएर सबैलाई खान दिइन्छ, जसलाई द्यैमु भनिन्छ । अन्तमा नकीँले लक्ष्मी भित्र पाल्नुस् भनी माथिदेखि तलसम्मको मन्डल सबै बढारेर म्हः पूजा समापन गर्छिन् ।
किम्वदन्ती अनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।
सम्पूर्ण नेवार समुदायद्वारा मनाइने म्हः पूजा नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ । यही दिन नेपाल सम्वतको पात्रो पनि फेरिन्छ । नयाँ वर्षको आरम्भ हुन्छ । यो सम्वतका प्रवर्तक शंखधर साख्वाको जन्मजयन्ती पनि पर्दछ । यस वर्षबाट नेपाल सम्वत ११४३ सुरु भएको छ । गरिबी निवारणका लागि उहाँले सबैको ऋण तिरिदिएको कथासंग जोडिने नेपाल सम्वत र म्हः पूजा समानता र जनकल्याणसंग पनि जोडिएको छ ।
संस्कार, सभ्यता र संस्कृतिमा नेपाली समाज यति सम्पन्न र गौरवशाली छ कि हाम्रा हरेक परम्पराको वैज्ञानिक पक्षको अनुसन्धान गर्ने हो भने हाम्रा पुर्खा हजारौं वर्ष अघि नै कति सक्षम, सचेत, ज्ञानी र योग्य रहेछन् मानवसभ्यताको रक्षाका लागि भन्ने स्पष्ट हुन्छ । म्हः पूजाको मूलभूत पक्ष भनेको स्वस्थ शरीर भएमा मात्र कर्म गर्न सकिन्छ, भक्ति प्रेम भैरहन्छ, बुद्धि प्रयोग गर्न सकिन्छ अनि सधैं आनन्दपूर्वक हँसिलो जीवन बिताउन सकिन्छ भन्ने हो । यो चलन विश्वमा नेपालको नेवारी समुदायमा मात्र छ ।

म्हः पूजा भेदभावरहित समाजको कल्पना पनि हो । हाम्रो शरीरभित्रै ईश्वरको बास हुन्छ भन्ने मान्यता राखेर म्हः पूजा गर्नुको अर्थ कसैले कसैलाई प्रताडित गर्नु हुँदैन । सबैको शरीरमा ईश्वरको बास हुनाले भेदभाव गर्नु हुँदैन, सबैले सबैको सहयोग गर्नुपर्छ भन्ने समाजसेवी भावनाका साथ समानताको मजबुत जग स्थापित गरिएको पनि हो । चाडपर्व मनाउनेहरुले यो पक्षमा ध्यान दिने हो भने म्हः पूजाको महत्व व्यवहारिक रुपमै प्रकट पनि हुनसक्छ ।
त्यस्तै यमपञ्चकको पाँचौं दिन तिहार सबै नेपालीले भाइटीका लगाउँछन् । यो टीका दाजुभाइको दीर्घआयूका लागि दिदी बहिनीले तेलको रेखी हालेर, ओखर फोडेर, सप्तरंगी टीका लगाइदिएर कहिल्यै नओइलाउने मखमली फूलको माला पहिर्याएर स्वस्थ र दीर्घजीवनको कामना गर्दछिन् ।
दाजुभाइ–दिदी बहिनीको अगाध प्रेम झल्काउने तिहारमा काग, कुकुर, गाईको पूजा गर्नुको पनि उत्तिकै महत्व छ । देउसी–भौलो खेलेर मनोरञ्जन गर्नुका साथै आर्थिक जोहो समेत गर्ने अवसर यसलाई दिइन्छ ।
आजभोलि देउसी–भैलो खेलेरै ठूलठूला सामाजिक कार्यसमेत हुने गरेका छन् । त्यसैले माथि नै भनियो कि नेपालमा मनाइने चाडपर्वहरु हाम्रो सभ्यता, संस्कृति मात्र नभएर मानव समाजका साथै सृष्टि संरचनाको कुशल संचालनको एउटा माध्यम पनि हो ।
संसारभर छरिएर रहेका नेवार समुदायहरु सामूहिक रुपमा म्हः पूजा गर्दछन् । देउसी–भैलो खेलेर नेपालका ग्रामीण क्षेत्रको शिक्षा, स्वास्थ्यका क्षेत्रमा आर्थिक सहयोग जुटाइरहेका छन् । यो गौरबको विषय हो कि चाडपर्वहरु केवल भोजभतेर खाने मेसो मात्र नभएर समाज संचालनको मेरुदण्ड पनि बन्दैछ । यी चाडपर्वहरुको मौलिकतालाई हामीले बचाइराख्नु पर्दछ ।




प्रतिक्रिया राख्नुहोस्