सिमरामा जेनजी र प्रहरीबीच झडपपछि प्रशासनले लगायो कफ्र्यू
बाराको सिमरामा जेनजी र प्रहरीबीच झडप भएपछि प्रशासनले कफ्र्यू लगाएको छ । बिहिबार विहानेदेखि सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।
वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ(बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।
यसअघि बुधबार नेकपा एमालेका कार्यकर्ता र जेनजीहरूबीच झडप भएको थियो । झडपका कारण सिमरा बजार क्षेत्र तनावग्रस्त बनेको थियो ।
एमाले नेता महेश बस्नेत बारा जाने कुरालाई लिएर दुई पक्षबीच विवाद भएको थियो । स्थिति थप बिग्रन नदिनका लागि स्थानिय प्रशासनले हिजो पनि सिमरा क्षेत्रमा कर्फ्यू लगाएको थियो ।
आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ नपरेको भन्दै जेनजी युवाले सिमरा बजार क्षेत्रमा ठूलो संख्यामा उपस्थित युवाले प्रदर्शन गरेका छन् ।
सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ । झडपमा परेर दुवैतर्फका केही सामान्य घाइते भएका छन् ।
बुधबारको घटनामा जेनजी युवालाई कुटपिट गर्नेहरूलाई प्रहरीले कारबाही नगरेको भन्दै प्रदर्शन गरेको जेनजी प्रदर्शनकारीको भनाइ छ ।
बुधबार जेनजी र एमाले कार्यकर्ता बीच भएकाे झडपमा ६ जना जेनजी घाइते भएका थिए । जेनजीले ६ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । एमाले र जेनजी पुस्ताका युवाहरूसित सिमरा चाेकमा भएकाे हात हालाहालकाे विषयमा जेनजीले एमाले कार्यकर्ताविरूद्ध जाहेरी दिएकाे हाे ।
प्रहरीले भने कुटपिटमा संलग्न दुईजनालाई पक्राउ गरेर अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाइसकेको बताएको छ । प्रदर्शनकारीले भने पक्राउ परेकालाई सिमरा चोकमा ल्याउनु पर्ने माग गर्दै नारावाजी गरिरहेका छन् ।





प्रतिक्रिया राख्नुहोस्