अमेरिकाले ‘डिपोर्ट’ गरेका थप ३५ जना काठमाडौँ आइपुगे
संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप ३५ जना नेपाली बिहीबार काठमाडौँ आइपुगेका छन् ।
डिपोर्ट भएर नेपाल आउनेमा ३३ जना अवैध तरिकाले अमेरिका गएका रहेका छन् । त्यस्तै एक जना विद्यार्थी भिसामा गएका र अर्का एक जना भने भिजिट भिसामा गएर काम गरी बसेका रहेका छन् ।
विद्यार्थी भिसामा गएका विद्यार्थीले कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएकोले डिपोर्ट गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताउनुभयो ।
उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको छ । अमेरिकाबाट डिपोर्ट भएकाहरु अधिकांशजसो रुकम/दाङतिरका रहेका र उनीहरुले अमेरिका जानको लागि ८० लाख रुपैयाँसम्म तिरेको पाइएको प्रहरीले बताएको छ ।
यद्यपि उनीहरुले जाहेरी दिने भने मानेका छैनन् । यसअघि अमेरिकाबाट विभिन्न चरणमा दुई सयभन्दा बध नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन् ।





प्रतिक्रिया राख्नुहोस्