राजनीति

त्रिविको ‘क्यामेरा भवन’ पुगेर सञ्चारमन्त्रीले भन्नुभयो- मन्दिर आएको अनुभूति भयो

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको अवलोकन गर्नुभएको छ । मन्त्री खरेलले विभागको बल्खुस्थित ‘क्यामेरा भवन’ को बिहीबार स्थलगत अवलोकन गरी त्यहाँको शैक्षिक, प्राज्ञिक र भौतिक अवस्थाकाबारेमा जानकारी लिइ समस्या समाधानका लागि भूमिका खेल्ने बताउनुभयो ।

त्यसक्रममा सञ्चारमन्त्री खरेलले त्रिविको क्यामेरा भवन पुग्दा मन्दिर पुगेजस्तो अनुभूति भएको उल्लेख गर्नुभयो । “क्यामेरा भवनमा आउँदा श्रद्धा र सद्भाव अगाध रह्यो ।

मन्दिरमै आएको अनुभूति भयो”, उहाँले भन्नुभयो, “म सञ्चारमन्त्रीका रुपमा नभई विद्यार्थीको नाताले एउटा सपनाको घरमा आएजस्तो ‘फिल’ भयो किनकी रत्नराज्य क्याम्पसमा साँघुरो कक्षाकोठा, भौतिक पूर्वाधार र स्रोतसाधनको कमीका बाबजुद अध्ययन गरेको त्यो भोगाइ आज सुविधासम्पन्न भवनमा आउँदा नौलो अनुभूति भयो ।”

सञ्चारमन्त्री खरेलले विभागको शैक्षिक उन्नयनका लागि सरकारकोतर्फबाट आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख डा कुन्दन अर्यालले गुणस्तरीय शैक्षिक जनशक्ति उत्पादनमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले विभागलाई शैक्षिक उन्नयन र रचनात्मक कामका लागि वर्तमान सरकारको सद्भाव रहने विश्वास व्यक्त गर्नुभयो । विभागका उपप्राध्यापक डा देवराज अर्यालले ऊर्जाशील व्यक्तित्व सञ्चारमन्त्रीका रुपमा पाउदा केन्द्रीय विभागले विकासको अपेक्षा गरेको र त्यसमा मन्त्रीको तदारुकताले प्रतिफल दिने अपेक्षा गर्नुभयो ।

त्यसअघि सञ्चारमन्त्री खरेल क्यामेरा भवन पुग्दा विभागीय प्रमुख डा अर्यालले स्वागत गर्नुभएको थियो । सञ्चारमन्त्री खरेलले विभागको भवनभित्र कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडिओ, टेलिभिजन स्टुडिओ, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, आधुनिक सभाहललगायतको अवलोकन गर्नुभयो । विभागीय प्रमुख अर्यालले भवनभित्र शैक्षिक, प्रागिक र भौतिक अवस्थाको सञ्चारमन्त्रीलाई जानकारी गराउनुभयो ।

उहाँका अनुसार विभागले ‘डिजिटल मिडिया प्रडक्सन’ र ‘फिल्म स्टडिज’ को शैक्षिक कार्यक्रम छिट्टै सञ्चालन गर्ने तयारी गरेको छ । विश्वका विभिन्न विश्वविद्यालयसँग सहकार्य, अन्तरराष्ट्रिय सम्मेलनहरु, स्रोत साधन जुटाउनेलगायत कामलाई विभागले प्राथमिकता दिएको छ ।

लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस परिसरबाट सञ्चालित केन्द्रीय विभाग दुई वर्षदेखि बल्खुस्थित आफ्नै क्यामेरा भवनबाट सञ्चालन भइरहेको छ । जहाँ स्नताकोत्तर तह र दर्शनार्थी (एमफिल) एवं विद्यावारिधि (पिएचडी) सम्मको कक्षा सञ्चालन हुँदै आएको छ ।

प्राध्यापक लालदेउसा राईसँग भेट

सञ्चारमन्त्री खरेलले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका संस्थापक एवं पत्रकारिता क्षेत्रका दिग्गज व्यक्तित्व प्राध्यापक
लालदेउसा राईसँग उहाँकै निवास पुगेर भेटवार्ता गर्नुभएको छ ।

मन्त्री खरेलले वनस्थलीस्थित राईको निवासमा पुगेर भेट गर्नुका साथै उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभयो । उहाँहरुबीच पत्रकारिता क्षेत्रको उन्नयन र विकास र पेसागत व्यावसायिकतालगायत सवालमा कुराकानी भएको थियो ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले प्राध्यापक राईको सुस्वास्थ्य, दीर्घ जीवनको कामना गर्नुभयो । उहाँले भन्नुभयो, “हजुरले पढाएका धेरै विद्यार्थी पत्रकारिताको सम्पादकीय नेतृत्व तथा राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा पनि राम्रो काम गरिरहेका छन् त्यसैले हजुरप्रति सबै विद्यार्थीको माया, सम्मान र आत्मियता छ, हाम्रोतर्फबाट अझै दीर्घायु, सुस्वास्थ्य र शान्तिको कामना गर्दछौँ ।”

मन्त्री खरेलले नेपाली पत्रकारितालाई उचाइम पु¥याउन प्राध्यापक राईको महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले प्राध्यापक राईको सोच, ज्ञान र भावनाअनुरुप सरकारकोतर्फबाट गर्नसकिने विभिन्न काममा सहजीकरण गरिने विश्वास व्यक्त गर्नुभयो ।

प्राध्यापक राईले नेपालको पत्रकारितालाई दक्षिण एशियाकै नेतृत्वदायी भूमिकामा पुर्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यावसायिक पत्रकारिता गर्न र पत्रकार बन्नका लागि गहिरो अध्ययन, खोज र अनुसन्धानमा दक्खल एवं सिर्जनशील हुनुपर्ने धारणा राख्नुभयो ।

राईले त्रिविअन्तर्गतको विभागमा करिब ४० वर्ष प्राध्यापन गराउनुभयो । उहाँले विसं २०३३ मा पत्रकारिताको अध्ययन सुरु भएसँगै बढाउन सुरु गर्नुभएको थियो ।

उमेरले ९२ वर्ष पुग्नुभएका राई अहिले पनि अध्ययन र लेखनमा सक्रिय हनुहुन्छ । उहाँ विगत एक वर्षदेखि स्वास्थ्यका कारण निवासमै आराम गरेर बस्नुभएको छ ।

सञ्चारमन्त्रीका साथमा विभागीय प्रमुख डा अर्यालसहित प्राध्यापक र विद्यार्थीसहित राईको निवास पुग्नुभएको थियो । विद्यार्थीले शिक्षकप्रति गर्ने सम्मान मन्त्री हुँदा पनि सञ्चारमन्त्री खरेलले गुरु लालदेउसा राईप्रति गरेको सम्मान सराहनीय कदम भएको विद्यार्थीहरुले बताएका छन् ।

विसं २०३३ देखि पत्रकारिता शिक्षाको प्रारम्भ भई पत्रकारिता विषयलाई विस्तार गरी गुणस्तरीय बनाउन अथक प्रयास भइरहेको विभागले जनाएको छ ।

विभागले २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ देखि विद्यावारिधि र २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.