प्रबास

नेपाली विद्यार्थी चन्दको सम्झनामा श्रद्धान्जलि सभा

गत साता लन्डन, एजवेयरस्थित आफ्नै डेरामा निधन भएका नेपाली विद्यार्थी, योमन चन्दको सम्झनामा श्रद्धान्जलि सभा आयोजना गरिएको छ।

केन्टनस्थित डिभिनिटी फ्युनरल केयरमा बिहीबार अपरान्ह आयोजित सभामा स्व.चन्दको परिवारका सदस्य, साथीहरु, पूर्व सहकर्मी तथा नेपाली समुदायका अगुवाहरुको सहभागिता थियो।

श्रद्धान्जलि व्यक्त गर्दै बर्न्टओक नेपाली समाजका अध्यक्ष खमिर जंग गुरुङले उच्च अध्ययनका लागि ठूलो सपना बोकेर बेलायत आएका विद्यार्थी योमनको निधन उनको परिवार मात्रै नभएर समुदायकै क्षति भएको बताउनुभयो ।

त्यस क्रममा गुरुङले परिवारको आग्रह अनुसार स्व योमनको शव नेपाल पठाउन आर्थिक सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिनुभयो ।

त्यसै गरी बर्न्टओक नेपाली समाजका उपाध्यक्ष मुरारी थापाले छोटो समयमै विभिन्न संघसंस्था तथा व्यक्तिबाट करिब २० हजार पौण्ड (झन्डै ३७ लाख रुपियाँ) बराबरको सहयोग संकलन भएको जानकारी दिनुभयो।

एम्पल इन्टरन्याशनल एडुकेशनका निर्देशक प्रमोद अधिकारीले आफू सन् २०१० मा विद्यार्थीको रुपमा बेलायत आएको स्मरण गर्दै स्व योमनको निधनबाट आफुहरु मर्माहत भएको बताउँदै दुखको घडीमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले मर्दापर्दा सहयोग गर्ने नेपाली संस्कृति नै भएको भन्दै स्व योमनको शव नेपाल पठाउन पारदर्शी रुपमा सहयोग संकलन गरिएको र बेलायतस्थित नेपाली समुदायबाट छोटो समयमै उल्लेख्य सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँले अर्थ संकलनमा विशेष सहयोग गरेका बर्न्टओक नेपाली समाज, हार्लो नेप्लिज कम्युनिटी, नेप्लिज ब्रिटिश कम्युनिटी, राप्ती समाज युके, ठकुरी समाज युके, एनआरएनए स्कटल्याण्ड, युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्याण्डका विद्यार्थीहरु, सुदूर पश्चिम विद्यार्थी समाज लगायत सम्पूर्ण संघसंस्था तथा सबै सहयोगीहरुलाई हार्दिक धन्यवाद दिनुभयो ।

सभामा बर्न्टओक नेपाली समाजकी हेल्थ एण्ड वेलबिइंग कोअर्डिनेटर सुषमा गुरुङ, पूर्व सहकर्मी दिपक राई लगायतले मृत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जलि अर्पण गनुृभएको थियो ।

श्रद्धान्जलि सभाको सुरुमा स्व योमन चन्दको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनट मौन धारण गरिएको थियो।

परिवारको तर्फबाट बोल्दै स्व योमन चन्दका दाजु सुजन शाहले अकल्पनीय दुखको यो घडीमा नैतिक तथा भौतिक सहयोग गर्नु हुनेबेलायतस्थित नेपाली समुदाय एवं संघसंस्थाप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुभयो ।

श्रद्धान्जलि सभामा लन्डन बरो अफ बार्नेटका पूर्व डेपुटी मेयर काउन्सिलर लक्ष गुरुङ, एनआरएनए युकेका प्रवक्ता श्याम लुइँटेल लगायत समाजका अगुवाहरुको उपस्थिति थियो। श्रद्धान्जलि सभाको संचालन बीबीसीका पूर्व पत्रकार तथा राप्ती समाज युकेका सल्लाहकार भगीरथ योगीले गर्नुभएको थियो ।

एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका वडा नं ३ निवासी योमन चन्दको गत मंगलबार (११ नोभेम्बर) निधन भएको थियो।

युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ पुरा गरेर गत साता नै सर्टिफिकेट लिने योजना थियो ।

चन्दको शव काठमाडौँ पठाएने र त्यसपछि सल्यानस्थित आफ्नै गाउँमा लगेर अन्तिम संस्कार गरिने परिवारका सदस्यले जनाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.