सरकारले वैशाखको सुरुदेखि नै भारतबाट एक सय रुपियाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम कडाइका साथ लागू गरेपछि नेपालका सीमावर्ती बजारहरूमा सकारात्मक प्रभाव देखिन थालेको छ।
विशेष गरी नेपालगन्ज बजारमा व्यापारिक गतिविधि बढेको छ भने सीमापारि भारतको रुपैडिहा बजार सुनसान बन्दै गएको छ।
नाकामा गरिएको कडाइका कारण किनमेलका लागि भारत जाने नेपाली उपभोक्ताको संख्या उल्लेख्य रूपमा घटेको छ। यसले सीमावर्ती नेपाली बजारमा ग्राहकको आगमन बढाएको छ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीका अनुसार वैशाख २ गतेदेखि लागू गरिएको कडाइले सीमाक्षेत्रको व्यापारिक गतिविधिमा प्रत्यक्ष प्रभाव पारेको छ।
उहाँले नाकामा निगरानी कडा बनाएपछि नेपालगन्जलगायतका बजारमा व्यापार बढेको र रुपैडिहामा व्यापार घटेको बताउनुभयो।
यसअघि बाँकेसहित दाङ, बर्दिया र सुर्खेतका उपभोक्तासमेत दैनिक उपभोग्य सामग्री खरिदका लागि रुपैडिहा पुग्ने गरेका थिए। तर, हाल सरकारले नियम कडाइका साथ कार्यान्वयन गरेपछि उपभोक्ताहरू नेपाली बजारतर्फ फर्किन थालेका छन्।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहीद मन्सुरीले यसलाई लामो समयदेखि व्यवसायीहरूले उठाउँदै आएको मागको कार्यान्वयन भएको भन्दै सकारात्मक परिवर्तनको रूपमा लिनुभएको छ।
नेपालगन्ज–३ का कपडा व्यवसायी केदार गुप्ताका अनुसार पछिल्लो समय स्थानीय ग्राहकको आगमन बढेको छ र व्यापारमा सुधार आएको छ। उहाँले सीमापारि जाने उपभोक्ताको संख्या घटेपछि नेपाली बजार पुनः चलायमान बन्दै गएको बताउनुभयो।
स्थानीय व्यापारीहरूले सरकारको यो निर्णयलाई स्वदेशी उत्पादन र व्यवसाय प्रवद्र्धनका लागि महत्वपूर्ण कदमका रूपमा लिएका छन्।
त्रिभुवन चोकका किराना व्यवसायी अशोक गुप्ताका अनुसार खुला सीमा र कमजोर निगरानीका कारण पहिले दैनिक हजारौँ नेपाली उपभोक्ता रुपैडिहा पुग्ने गर्थे।
अहिले भने अधिकांशले स्वदेशी बजारमै किनमेल गर्न थालेका छन्। उहाँले यसलाई दीर्घकालीन बनाउन भन्सार दर परिमार्जनलगायत थप सुधार आवश्यक रहेको औँल्याउनुभयो।
रुपैडिहा बजारमा व्यापार घट्यो
भन्सार कडाइपछि रुपैडिहा बजारमा नेपाली ग्राहकको संख्या तीव्र रूपमा घटेको छ। भारतीय व्यापारीहरूका अनुसार जमुनाहा नाकामा लागू गरिएको नियमका कारण ग्राहक घट्दा व्यापारमा प्रत्यक्ष असर परेको छ।
रुपैडिहाका व्यवसायी महेन्द्र जयसवालले नेपाली उपभोक्ताको आगमन कम भएपछि बिक्री आधाभन्दा बढी घटेको बताउनुभयो। त्यस्तै कपडा व्यवसायी रजा इमाम र अर्का व्यापारी नरेश मित्तलले पनि बजारमा ग्राहक अभावका कारण व्यापार ठप्पजस्तै भएको गुनासो गरेका छन्।
भन्सार राजस्वमा वृद्धि
भन्सार कडाइले राजस्व संकलनमा पनि वृद्धि भएको छ। नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार वैशाख २ गतेअघि दैनिक करिब २ लाख ५० हजार रुपैयाँ संकलन हुने गरेकोमा हाल दैनिक ३ लाखदेखि ३ लाख ७५ हजार रुपैयाँसम्म राजस्व संकलन हुन थालेको छ।
यद्यपि राजस्व वृद्धिको दर ठूलो नभए पनि यसले उपभोक्तालाई स्वदेशी बजारमै किनमेल गर्न प्रेरित गरेको भन्सार कार्यालयको भनाइ छ।
तस्करी नियन्त्रणमा थप कडाइको माग
भन्सार नियम कडाइसँगै अब अवैध तस्करी र क्यारिङ नियन्त्रण गर्नुपर्ने माग उठेको छ। स्थानीय अगुवा हेमन्तराज काफ्लेले नाकामा कडाइ सराहनीय भए पनि अवैध आयात र तस्करी पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पनि खुला सीमाका कारण हुने तस्करीले वैध व्यवसाय र उपभोक्ता दुवैलाई असर पार्ने भएकाले यसमा कडाइ अपरिहार्य रहेको बताउनुभयो।
यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले अवैध आयात नियन्त्रणका लागि कडाइ बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय ठूलो परिमाणमा अवैध सामान बरामद हुन थालेको छ र बजार अनुगमनलाई समेत तीव्र बनाइनेछ।





प्रतिक्रिया राख्नुहोस्