सडक सुरक्षा र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एयर होस्टेसहरूको सहभागितामा विशेष ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ।
काठमाडौँ उपत्यकाका मुख्य चोक तथा अत्यधिक सवारी चाप हुने क्षेत्रमा आयोजित कार्यक्रममा गीता उड्डयन (एभिएसन) मा प्रशिक्षित एयर होस्टेसहरूको सक्रिय सहभागिता रहेको थियो।
हवाई यात्राका क्रममा यात्रुको सुरक्षा, सुविधा र सेवा सुनिश्चित गर्ने जिम्मेवारी निर्वाह गर्दै आएका एयर होस्टेसहरू आफ्नो शिष्ट व्यवहार, अनुशासन, धैर्यता र यात्रुप्रतिको सम्मानजनक सेवाका लागि परिचित छन्। सोही अनुभवलाई सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिमा उपयोग गरिएको आयोजकले जनाएको छ।
यात्रु सेवासँग सम्बन्धित पेसामा आबद्ध एयर होस्टेसहरूले सडक प्रयोगकर्ता नागरिकलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्रा, सडक अनुशासन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश प्रवाह गरेका थिए। उनीहरूले हवाई यात्रामा जस्तै सडक यात्रामा पनि सुरक्षा पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएका थिए।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेले सडक सबै नागरिकको साझा प्रयोगस्थल भएकाले यसको सुरक्षामा सबैको समान जिम्मेवारी रहने बताउनुभयो।
उहाँले भन्नुभयो, “सडक प्रयोग सबै नागरिकले गर्दछन्। यसमा आम नागरिकको पनि उत्तिकै भूमिका हुन्छ। सडक नियमको पालना गर्नु सबैको दायित्व हो। कुनै व्यक्ति बिहान घरबाट निस्केर सुरक्षित रूपमा घर फर्किने वातावरण सिर्जना गर्नु ट्राफिक प्रहरीको मुख्य उद्देश्य हो।”
उपत्यका ट्राफिक प्रहरीले पछिल्लो समय सडक दुर्घटना न्यूनीकरण, अनुशासित सवारी सञ्चालन तथा सुरक्षित यात्राका लागि विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ।
सोही क्रममा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँग सहकार्य गरी जनस्तरसम्म ट्राफिक चेतना पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार गीता उड्डयनका प्रशिक्षित एयर होस्टेसहरूको सहभागितामा पद्मोदय मोड, नयाँ बानेश्वर, पुतलीसडक लगायतका प्रमुख स्थानमा कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रमका क्रममा सहभागीहरूले हातमा सचेतनामूलक प्लेकार्ड बोकेर चालक, पैदलयात्री तथा अन्य सडक प्रयोगकर्तालाई ट्राफिक नियम पालना गर्न आग्रह गरेका थिए। ती प्लेकार्डमार्फत तीव्र गति नियन्त्रण, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, पैदलयात्रुको सुरक्षालगायत विषयमा सन्देश प्रवाह गरिएको थियो।
‘ट्राफिक नियम पालना गरौँ, दुर्घटना होइन सुरक्षित गन्तव्य रोजौँ’ भन्ने नारासहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकमहिने ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहेको छ।
दुर्घटनाका प्रमुख कारणमध्ये चालकको लापरबाही, तीव्र गति, ट्राफिक नियम उल्लङ्घन तथा सडक अनुशासनको कमी देखिएकाले यस्ता समस्याको न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको एसएसपी काफ्लेले बताउनुभयो।
सडक सुरक्षा केवल ट्राफिक प्रहरीको जिम्मेवारी नभई सम्पूर्ण सडक प्रयोगकर्ताको साझा दायित्व भएको सन्देश प्रवाह गर्दै एयर होस्टेसहरूको सहभागिताले अभियानलाई थप प्रभावकारी, आकर्षक र जनमैत्री बनाएको विश्वास गरिएको छ।
यात्रुको सुरक्षालाई केन्द्रमा राखेर सेवा प्रदान गर्ने एयर होस्टेसहरूको शिष्टता, अनुशासन र सेवामुखी संस्कृतिले सडक सुरक्षाबारे सकारात्मक सन्देश फैलाउन सहयोग पुगेको आयोजकको भनाइ छ।




प्रतिक्रिया राख्नुहोस्