अर्थ

नेपाल बैङ्कद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण

नेपाल बैङ्क लिमिटेड रसुवाको धुञ्चे शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पहिलोपटक दुर्गम क्षेत्रका सात विद्यालयका ९२ जना विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल बढाउने उद्देश्यले  पहिलोपटक रसुवाका सामुदायिक विद्यालयका छात्रछात्रालाई पोसाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको शाखा प्रबन्धक कृष्ण तामाङले जानकारी दिनुभयो ।

बैङ्कले भीमली आधारभूत विद्यालय, पार्वतीकुण्ड आधारभूत विद्यालय गतलाङ, गोसाइँकुण्ड आधारभूत विद्यालय, आमाछोदिङ्मो, कोमिन श्यामे वाङ्फेल माध्यमिक विद्यालय स्याफ्रुबेँसी, लिङलिङ प्राथमिक विद्यालय र रसुवा माध्यमिक विद्यालय धुञ्चेमा अध्ययनरत विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री प्रदान गरेको हो ।

यसै सन्दर्भमा विद्यालयहरूका तर्फबाट कोमिन श्यामे वाङ्फेल माविका प्रधानाध्यापक किशोरकुमार पुरकोटीले सदैव रकम कारोबार गर्ने बैङ्कले पोसाक तथा शैक्षिक सामग्री उपलब्ध गराएर हिमाली तथा दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल बढाएकामा धन्यवाद व्यक्त गर्दै सामाजिक उत्तरदायित्व कार्यक्रमलाई शैक्षिक कार्यक्रमसँग जोड्न अनुरोध गर्नुभयो ।

प्रबन्धक तामाङका अनुसार २०३३ सालमा पहिलो बैङ्कका रुपमा जिल्ला सदरमुकाम धुन्चेमा विस्तार भएको सो शाखाले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अधिकांश काम पाँच मिनेटभित्र सम्पन्न गर्नेगरी आवश्यक प्रबन्ध गरेको छ ।

जिल्लाको पुरानो सदरमुकाम स्याफ्रुबेँसीमा ‘काउण्टर’ रहेको सो बैङ्कको धुन्चे शाखाअन्तर्गत करिब १३ हजार निक्षेपकर्ता, ६०० भन्दा बढी कर्जा ग्राहक र पाँच हजार भन्दाबढी ग्राहक रहेकोे खजाञ्ची प्रकाश ढकालले जानकारी दिनुभयो ।

यसैगरी, धुन्चे शाखाका सहायक प्रबन्धक नारायणप्रसाद अधिकारीका अनुसार छिटोछरितो सेवा प्रवाह गरी जिल्लामा रहेका विभिन्न १७ वटा बैङ्क तथा वित्तीय संस्थालाई ‘नोट’ प्रवाह गर्ने, सबै सरकारी कार्यालयलाई भुक्तानी दिने तथा राजस्वबापत सङ्कलित रकम राख्ने जिम्मेवारी कुशलतापूर्वक बहन गरेका भनी सेवाग्राहीबाट खुसी व्यक्त गरिएको छ ।

देशकै पहिलो बैङ्कका रुपमा १९९४ सालमा स्थापना भएको नेपाल बैङ्कको देशका ७२ वटौ जिल्लामा शाखा कार्यालय रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.