अर्थ

बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । यस्तै, २० मेगावाट क्षमताका दुई आयोजना बन्द भएका छन् ।

सडकमार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धवलागिरि गाउँपालिकामा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना प्रभावित भएका हुन् ।

कुल ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–एक, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी, ६५ मेगावाटको म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला र छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण कार्य प्रभावित भएको छ ।

यसैगरी, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजना निर्माण स्थल पनि यातायात सम्पर्कविच्छेद भएको छ ।

नारच्याङको रेलेखर्क क्षेत्रबाट आएको बाढी बाँधमा थुप्रिँदा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना गत असार अन्तिम सातादेखि बन्द भएको छ ।

गत साउन २६ गते सुक्खा पहिरोले विद्युत्गृह पुरिएपछि अन्नपूर्ण गाउँपालिका–६ मा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादन ठप्प भएको छ । उक्त पहिरोमा पुरिएर एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीले घुमाउने (फापरखेत), बाङ्गेपहिरो, इल्पुमा पहिरो र शिवरात्रि खोलामा बाढी आएपछि गत असार महिनादेखि सिमेन्ट, रडजस्ता निर्माण सामग्रीका साथै उपकरण बोकेका गाडीहरु आयोजना निर्माणस्थलमा पुग्न नसकेका बताउनुभयो ।

“भएका उपकरण र मौजुदा निर्माण सामग्री परिचालन गरेर कामलाई निरन्तरता दिएका छौँ”, उहाँले भन्नुभयो, “बाढीपहिरोका कारण निर्माण सामग्री ढुवानी प्रभावित हुँदा अपेक्षाकृत गतिमा काम गर्न सकेका छैन ।”

शिवरात्रिखोलामा पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित मोटरेबल पुल निर्माण योजनामा ढिलाइ हुँदा बर्खायाममा सवारीसाधन वारपार गर्न समस्या भएको छ ।

खोलामा बाढीको सतह बढ्ने, पहुँचमार्गमा पहिरो खस्ने समस्याले निर्माण कार्यमा असर परेको म्याग्दीखोला जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले जानकारी दिनुभयो ।

“वैकल्पिक उपाय र मौजुदा सामग्री परिचालन गरेर काम गर्नुपर्दा निर्माणको गतिमा असर परेको छ”, उहाँले भन्नुभयो “डोजरको सहायताले सामान ढुवानी गर्ने गाडी तार्ने, पहिरो पन्छाउँदै सवारीसाधन पार गराउँदै गर्नुपर्ने बाध्यता छ ।”

साठी प्रतिशत भौतिक प्रगति भएको ३७ मेगावाटबाट क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाउने प्रक्रियामा रहेको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले पनि बाढी पहिरोका कारण निर्माण कार्यमा असर परेको जनाएको छ ।

बेनी–दरबाङका साथै दरबाङ–धारापानी–ताकम–मुना सडकमा पर्ने थापाचौर, गौथली, दाचौर भिरको पहिरोका कारण निर्माण सामग्री ढुवानी गर्न नपाएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.