जापान

नाकागावा नदीमा फेला परेको शव नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको

जापानको फुकुओका सहरमा अध्ययनरत २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको शव नदीमा फेला परेको घटनाले नेपाली समुदायमा शोक छाएको छ ।

अगस्ट १९ को बिहान फुकुओका सहरको चुओ वार्ड हुँदै बग्ने नाकागावा नदीमा शव फेला परेको थियो। फुकुओका प्रिफेक्चरल प्रहरीले अनुसन्धानका क्रममा मृतक नेपाली नागरिक लक्ष्मी राजवंशी रहेको पुष्टि गरेको थियो ।

यस दुःखद घटनाप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले गम्भीर ध्यानाकर्षण जनाएको छ। एनआरएनए जापानद्वारा जारी विज्ञप्तिअनुसार साथै, प्रहरीले घटनालाई हत्या भएको आशंकामा अनुसन्धान मुख्यालय गठन गरी विस्तृत अनुसन्धान अघि बढाएको जानकारी सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख छ।

झापा जिल्ला चन्द्रगढी–४ स्थायी घर भएकी राजवंशीको हत्या गरी शव नदीमा फालिएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनामा लक्ष्मीका साथी तथा उनकी प्रेमीको संलग्नताबारे समेत अनुसन्धान भइरहेको जनाइएको छ।

एनआरएनए जापानले अध्ययन तथा उज्ज्वल भविष्य निर्माणको उद्देश्यले जापान पुगेकी नेपाली युवतीको असामयिक निधन अत्यन्तै दुःखद र गम्भीर घटना भएको जनाएको छ। यस घटनाले जापानमा रहेका नेपाली समुदायलाई स्तब्ध र मर्माहत बनाएको पनि संघले उल्लेख गरेको छ।

संघले मृतक लक्ष्मी राजवंशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा साथीभाइप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

साथै, घटनाको निष्पक्ष, गहिरो र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीलाई जापानको कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित जापानी सुरक्षा निकायसमक्ष आग्रह गरेको छ।

एनआरएनए जापानले अनुसन्धान जारी रहेकाले सामाजिक सञ्जाल वा अन्य माध्यममा फैलिएका अपुष्ट सूचना, अनुमान तथा व्यक्तिविशेषलाई लक्षित आरोप–प्रत्यारोप नगर्न सबैमा अनुरोध गरेको छ।

अनुसन्धानमा सहयोग पुग्ने कुनै तथ्य, प्रमाण वा जानकारी भए सम्बन्धित निकायलाई उपलब्ध गराउन पनि नेपाली समुदायसँग अपिल गरिएको छ।

विज्ञप्तिमा यस घटनाका सम्बन्धमा आवश्यक समन्वय, सहयोग तथा परिवारसँगको सम्पर्कका लागि एनआरएनए जापान सम्बन्धित निकायहरूसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.