विद्युतीय सवारीसाधन सञ्चालनका समस्या समाधान गर्न माग
यातायात व्यवसायीले सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले बिहीबार काठमाडौँस्थित विद्युतीय सवारीसाधनका आधिकारिक विक्रेताका प्रतिनिधिलाई भेटेर विद्युतीय सवारीसाधन सञ्चालनमा देखिएका समस्या समाधान गर्न माग गरेको हो ।
महासङ्घ बागमती प्रदेशका संयोजक सुवर्ण गिरीले विद्युतीय सवारीसाधन सञ्चालनका क्रममा व्यवसायीले भोग्नुपरेका समस्याप्रति गम्भीर हुन सम्बद्ध कम्पनीलाई आग्रह गर्नुभयो ।
उहाँले बजारमा विद्युतीय सवारीसाधनका स्पेयर पाट्र्सको अभाव रहेको, आवश्यक पार्टपुर्जा समयमा उपलब्ध नहुँदा सवारीसाधन ग्यारेजमा थन्क्याउनुपर्ने र मर्मतसम्भार सेवा प्रभावकारी नभएको बताउनुभयो ।
यस्तै, उहाँले चार्जिङ सेवामा प्राविधिक समस्या देखिएकाले त्यसको तत्काल समाधान गर्नुपर्नेमा जोड दिनुभयो । व्यवसायीले विद्युतीय सवारीसाधन बिक्रीका क्रममा कम्पनीले गरेका प्रतिबद्धता र आश्वासन व्यवहारमा कार्यान्वयन नभएको गुनासो गरेका छन् ।
संयोजक गिरीले सार्वजनिक यातायात क्षेत्रमा व्यवसायीको ठूलो लगानी, हजारौँको रोजगारी र नागरिकको दैनिक जीवन प्रत्यक्ष जोडिएकाले कम्पनीले आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने बताउनुभयो ।
महासङ्घले आफूले बिक्री गरेका सवारीसाधनमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता पूरा नगरे थप कडा कदम चाल्ने जनाएको छ । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि बिक्रीपछिको सेवा प्रभावकारी नहुँदा व्यवसायी र यात्रु दुवै समस्यामा परेको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्