विश्व समाचार

विवादित कुरिल टापुमा रुसी क्षेप्यास्त्र परीक्षण, जापानको विरोध

जापानले आफ्नो देशले ‘उत्तरी क्षेत्र’ भनेर दाबी गर्दै आएको विवादित कुरिल टापुमा रुसले क्षेप्यास्त्र परीक्षण गर्ने जानकारी दिएपछि मस्कोसँग विरोध जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उक्त क्षेत्रको भ्रमणपछि क्षेप्यास्त्र परीक्षणको विषय सार्वजनिक भएको हो ।

जापानी सरकारका प्रवक्ताले शुक्रबार रुसको क्षेप्यास्त्र परीक्षण योजनाप्रति विरोध जनाइएको बताउनुभएको छ । जापान र रुसबीच कुरिल टापुहरूको स्वामित्वलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ ।

जापानी समाचार संस्था क्योदोले रुसी प्यासिफिक फ्लीटलाई उद्धृत गर्दै परीक्षण भइसकेको जनाएको छ । बास्टियन सतहदेखि जहाजमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणालीले सुसज्जित रुसी नौसैनिक एकाइले परीक्षण गरेको बताइएको छ ।

परीक्षणमा निर्देशित क्षेप्यास्त्र क्रुजर ‘वर्याग’ र आणविक शक्तिबाट चल्ने पनडुब्बी ‘ओम्स्क’ समेत सहभागी भएको जनाइएको छ । क्योदोका अनुसार अभ्यासमा शत्रु जहाजमाथि आक्रमणको अभ्यास गरिएको थियो र कम्तीमा ३०० किलोमिटर दूरीका सबै लक्षित लक्ष्यमा क्षेप्यास्त्र प्रहार सफल भएको थियो । परीक्षणको वास्तविक मिति भने स्पष्ट पारिएको छैन ।

राष्ट्रपति पुटिनले अगस्ट १३ मा सन् १९४५ पछि रुसको नियन्त्रणमा रहेका विवादित कुरिल टापुहरूको पहिलो आधिकारिक भ्रमण गर्नुभएको थियो । त्यसपछि जापानले रुसी राजदूतलाई बोलाएर विरोध जनाएको थियो भने मस्कोले पनि त्यसको जवाफ दिएको थियो ।

पुटिन रुसी नौसेनाको सैन्य अभ्यास भइरहेको सखालिन टापुको भ्रमणपछि कुरिल क्षेत्र पुग्नुभएको थियो । पछिल्लो क्षेप्यास्त्र परीक्षणले जापान–रुसबीच टापुहरूको स्वामित्वलाई लिएर रहँदै आएको तनाव थप बढाउने सङ्केत गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.