विश्व समाचार

युरोपको गर्मीले बदल्यो फेसन, एथेन्समा टोपी पर्यटन संस्कृतिको अभिन्न हिस्सा

ग्रीसको राजधानी एथेन्सस्थित विश्वप्रसिद्ध प्राचीन सम्पदा एक्रोपोलिस वरपर यस गर्मीयाममा एउटा दृश्य सर्वत्र देख्न सकिन्छ, विभिन्न शैलीका टोपी लगाएका पर्यटकहरूको भीड।

चर्को घाम र अत्यधिक गर्मीबाट जोगिन पर्यटकहरूले स्ट्रा ह्याट, पानामा ह्याट, बेसबल क्यापदेखि बकेट ह्याटसम्म प्रयोग गर्न थालेपछि टोपी अहिले एथेन्सको पर्यटन संस्कृतिको अभिन्न हिस्सा बनेको छ।

एक्रोपोलिस पुग्ने उकालोमा पर्यटकहरूको भीडसँगै रंगीचंगी टोपीको लहर देखिन्छ। यस वर्ष एथेन्सको मध्यभागमा रहेका पसल र किओस्कहरूमा पनि बाहिरै टोपीका स्ट्यान्ड राखेर बिक्री गर्न थालिएको छ। दिउँसोको चर्को घामबाट बच्न पर्यटकहरूले टोपी खरिद गर्ने क्रम उल्लेखनीय रूपमा बढेको व्यापारीहरू बताउँछन्।

ग्रीसको पर्यटन विभागका अनुसार सन् २०२५ मा मात्र करिब ४६ लाख पर्यटकले एक्रोपोलिसको भ्रमण गरेका थिए, जुन हालसम्मकै उच्च सङ्ख्या हो।

धेरै पर्यटकले ३० देखि ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रममा छायाँको अभावबीच घण्टौँसम्म ऐतिहासिक स्थल अवलोकन गर्ने गरेका छन्।

गर्मीको प्रभाव यति बढेको छ कि एक्रोपोलिसको फेदीमा पर्यटक बोक्ने घोडालाई समेत कान निकाल्ने गरी प्वाल पारिएको विशेष बकेट ह्याट लगाइएको दृश्य देख्न सकिन्छ।

अष्ट्रेलियाबाट घुम्न आएका पर्यटक ज्याक योसिफले अहिले एथेन्समा टोपीबिना हिँड्न कठिन भएको बताउनुभयो। “टोपी अनिवार्यजस्तै भएको छ। अहिले नै मेरो अनुहार रातो भइसकेको छ। पछिल्ला वर्षमा मानिसहरू घामको असरप्रति धेरै सचेत भएका छन्,” उहाँले भन्नुभयो।

अत्यधिक गर्मीका बाबजुद ग्रीसमा पर्यटक आगमन भने घटेको छैन। पछिल्लो उपलब्ध तथ्याङ्कअनुसार गत वर्ष ३ करोड ८० लाखभन्दा बढी पर्यटक ग्रीस पुगेका थिए, जुन नयाँ कीर्तिमान हो।

बिहानको समयमा सबै पर्यटकलाई एकैपटक ऐतिहासिक स्थल प्रवेश गराउन सम्भव नहुने भएकाले धेरैले चर्को घाममै भ्रमण गर्नुपर्ने अवस्था रहेको छ। यसले घामबाट बच्ने उपाय अपनाउनुपर्ने आवश्यकता झन् बढाएको छ।

ग्रीसका स्वास्थ्यकर्मीहरूले पनि पराबैजनी (यूभी) किरण र लु लाग्ने जोखिमबारे जनचेतना बढेको भन्दै स्वागत गरेका छन्। एक्रोपोलिस क्षेत्रमा तैनाथ रेडक्रसका स्वयंसेवकहरूले पर्यटकलाई सनस्क्रिन, खानेपानी, सचेतनामूलक पुस्तिका तथा रातो टोपी सहितका सामग्री निःशुल्क वितरण गरिरहेका छन्।

एथेन्सको सिन्टाग्मा स्क्वायरस्थित एक किओस्कका सञ्चालक कोन्स्टान्टिनोस मालियोसका अनुसार पछिल्ला केही वर्षयता टोपीको बिक्री उल्लेखनीय रूपमा बढेको छ।

उहाँका अनुसार साधारण टोपी ६ युरोदेखि सुरु हुन्छ भने आकर्षक तथा स्मरणिका (सुभेनिर)का रूपमा बिक्री हुने टोपीको मूल्य २० युरोसम्म पुग्छ। बजारमा कागजको लुग्दीबाट बनेका सस्तो मूल्यका हलुका टोपी पनि उपलब्ध छन्।

यसैबीच परम्परागत शैलीका हस्तनिर्मित टोपीको माग पनि बढ्दै गएको छ। एथेन्सकी टोपी निर्माता लिसा सारिगियान्निडुले आफ्ना पिताबाट सिकेको सीप प्रयोग गरी एक शताब्दी पुराना उपकरणबाट परालका टोपी तयार गर्नुहुन्छ। उहाँले बनाउने टोपीको मूल्य ५० युरोदेखि सुरु हुने र विशेष डिजाइन भएका टोपी १०० युरोभन्दा बढीमा बिक्री हुने बताउनुभयो।

“टोपीप्रतिको मानिसहरूको सोच पूर्ण रूपमा बदलिएको छ,” उहाँले भन्नुभयो। “पहिले युवतीहरूले टोपी लगाएर ऐनामा हेर्दा हाँस्ने गर्थे। अहिले भने उनीहरू गम्भीरतापूर्वक टोपी छानेर पसलबाट लगाएकै अवस्थामा बाहिर निस्किन्छन्।”

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनसँगै युरोपमा गर्मीको तीव्रता बढ्दै जाँदा टोपी, सनस्क्रिन र पर्याप्त पानीको प्रयोग अब फेसनभन्दा पनि स्वास्थ्य सुरक्षाको आवश्यकता बन्दै गएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.