जापानबिशेष

रेल दुर्घटनामा चार कामदारको मृत्यु : तोचिगी प्रहरीले टोबु रेलवे कम्पनीमा छापा

टोकियो । जापानको तोचिगी प्रिफेक्चरल प्रहरीले गत साता रेलको ठक्करबाट चार कामदारको मृत्यु भएको घटनाको अनुसन्धानका क्रममा आइतबार टोबु रेलवे समूहअन्तर्गतको एक कम्पनीमा छापा मारेको छ।

प्रहरीले लापरबाहीका कारण मृत्यु भएको आशंकामा निक्कोस्थित टोबु कन्स्ट्रक्सनको कार्यालयमा छापा मारेको हो। उक्त कम्पनीले टोबु निक्को लाइनअन्तर्गतको रेलमार्गमा झारपात सफा गर्ने कामको जिम्मा लिएको थियो। घटना गत बिहीबार बिहान करिब १०ः४५ बजे शिन–कानुमा स्टेसनमा भएको थियो।

तोबु–निक्को स्टेसनबाट टोकियोको आसाकुसातर्फ गइरहेको छ डब्बे भएको ‘स्पासिया एक्स नम्बर–२’ सीमित एक्सप्रेस रेलले रेलमार्गमा झारपात सफा गरिरहेका चार पुरुष कामदारलाई ठक्कर दिएको थियो। दुर्घटनामा ५० र ६० वर्ष उमेर समूहका चारै जना कामदारको मृत्यु भएको थियो।

प्रहरीका अनुसार दुर्घटनाका बेला कामदारहरू रेलमार्गमै रहेका भए पनि रेलका चालकले उनीहरू सुरक्षित स्थानमा हटिसकेको संकेत देखेको बताएका छन्।

घटनाको वास्तविक कारण तथा कामदारलाई सुरक्षित स्थानमा हटाउने प्रक्रियामा कहाँ कमजोरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

टोबु रेलवेका अनुसार रेलमार्गमा काम गर्ने क्रममा कामदारलाई सुरक्षित स्थानमा हटाउनेसम्बन्धी आन्तरिक नियम तोकिएको छ।

रेल आउन लागेको अवस्थामा निगरानीमा खटिएका कर्मचारीले सिटी तथा अन्य उपकरणको माध्यमबाट कामदारलाई संकेत गर्ने र त्यसपछि काम रोक्दै रेलमार्गबाट सुरक्षित स्थानमा हट्नुपर्ने व्यवस्था छ।

सबै कामदार सुरक्षित स्थानमा पुगेको सुनिश्चित भएपछि निगरानीमा खटिएका कर्मचारीले पहेंलो झन्डा तेर्सो पारेर रेल चालकलाई संकेत गर्ने व्यवस्था रहेको रेलवेले जनाएको छ। चालकले उक्त संकेत देखेपछि हर्न बजाउनुपर्ने नियम छ।

दुर्घटनाका बेला घटनास्थल वरपर तीन जना निगरानी कर्मचारी खटिएका थिए। तीमध्ये एक जना काम भइरहेको स्थानबाट करिब ८० मिटर टाढा रहेर चालकलाई पहेंलो झन्डामार्फत संकेत दिने जिम्मेवारीमा थिए।

त्यस्तै, रेल घटनास्थलबाट करिब ५०० मिटर नजिक आइपुग्दा संकेत दिने गरी एक जना अतिरिक्त निगरानी कर्मचारी पनि खटाइएको थियो। तर ती कर्मचारीले ‘रेलका निगरानी कर्मचारीसँग सञ्चार गर्न सम्भव नभएको’ बताएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

रेलका चालकले आफूले निगरानी कर्मचारीले देखाएको पहेंलो झन्डा देखेपछि हर्न बजाएको बताएका छन्। तर त्यतिबेलासम्म कामदारहरू रेलमार्गबाट सुरक्षित स्थानमा हट्न नसकेको देखिएको छ।

घटनाको अनुसन्धानका लागि तोचिगी प्रहरीले शुक्रबार कानुमा प्रहरी कार्यालयमा विशेष अनुसन्धान टोली गठन गरेको थियो। प्रहरीले घटनालाई पेसागत लापरबाहीका कारण मृत्यु भएको मुद्दाका रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ।

दुर्घटनाले रेलमार्गमा मर्मत तथा निर्माण कार्य भइरहेका बेला कामदार र रेल सञ्चालनबीचको सञ्चार, संकेत प्रणाली तथा सुरक्षा मापदण्डको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ।

प्रहरीले दुर्घटनाको सम्पूर्ण घटनाक्रम, सुरक्षा प्रक्रियाको पालना तथा संकेत आदानप्रदानमा भएको सम्भावित कमजोरीबारे थप अनुसन्धान गरिरहेको छ।

तस्वीर र समाचार स्रोत द जापान टाइम्स

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.