राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व वरिष्ठ नेता तथा पूर्वसञ्चारकर्मी रवीन्द्र मिश्रले गत वर्ष भदौ २३ र २४ गते भएको आन्दोलन र त्यसपछिको हिंसात्मक घटनालाई ‘विदेशी–जासुसी विद्रोह’को संज्ञा दिनुभएको छ।
भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति तथा शासनप्रतिको असन्तुष्टिलगायत विषयलाई लिएर सुरु भएको जेन–जी आन्दोलनमा सुरक्षाकर्मीको बल प्रयोगबाट १९ जनाको मृत्यु भएपछि भोलिपल्ट आन्दोलन थप उग्र बनेको थियो।
भदौ २४ गते संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवास तथा विभिन्न राजनीतिक नेताका निवास र सरकारी संरचनामा आगजनी तथा तोडफोड भएका थिए।
त्यही घटनाको एक वर्ष पुग्न लाग्दा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले आफूले यसअघि भदौ २३ गतेको घटनालाई ‘जेन–जी विद्रोह’ र २४ गतेको घटनालाई ‘घुसपैठ विद्रोह’ भन्दै आएको उल्लेख गर्नुभएको छ। तर विभिन्न विद्रोह र तथ्यमा आधारित जासुसी चलचित्र तथा घटनाहरूको अध्ययनपछि आफ्नो धारणा परिवर्तन भएको उहाँले बताउनुभएको छ।
मिश्रले भदौ २३ र २४ गतेका घटनालाई संसारकै सफलमध्ये एक ‘विदेशी–जासुसी विद्रोह’का रूपमा आफूले मूल्याङ्कन गरेको बताउनुभएको छ।
उहाँका अनुसार अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था वा शक्तिले नेपाली युवाको पीडा, असन्तोष, आक्रोश र अपेक्षालाई उनीहरूलाई थाहै नदिई प्रयोग गरेको हुनसक्ने उहाँको दाबी छ।
उहाँले लेख्नुभएको छ, “यस्तो विद्रोह जसमा ६ घण्टाको अवधिभित्र देशको राष्ट्रियता र सार्वभौमसत्ताका प्रमुख तीन धरोहर—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तथा राष्ट्रप्रमुखको निवास जलिसकेको थियो।”
भदौ २४ गतेको घटनाक्रममा संघीय संसद्, सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति निवासलगायत महत्वपूर्ण राज्य संरचनामा आगजनी भएको थियो। सोही दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको थियो। घटनामा सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो।
मिश्रले घटनाको योजनाकार, योजना र कार्यान्वयनसँग सम्बन्धित गोप्य तथ्य भविष्यमा सार्वजनिक भए त्यसबारे विश्वस्तरीय ‘जासुसी चलचित्र’ नै बन्न सक्ने टिप्पणी गर्नुभएको छ। यद्यपि उहाँले आफ्नो दाबी पुष्टि गर्ने कुनै ठोस प्रमाण वा त्यस्ता अन्तर्राष्ट्रिय संस्थाको नाम भने सार्वजनिक गर्नुभएको छैन।
स्थानीय युवा वा सर्वसाधारणलाई उनीहरूकै असन्तोष र भावनाका आधारमा कुनै बाह्य शक्ति वा समूहले आफ्नो उद्देश्यका लागि प्रयोग गरेका उदाहरण विश्वमा रहेको उल्लेख गर्दै उहाँले नेपालमा पनि त्यस्तै भएको आफ्नो निष्कर्ष रहेको बताउनुभएको छ।
मानवअधिकार तथा अनुसन्धानसम्बन्धी पछिल्ला अध्ययनहरूले भने भदौ २४ गतेको हिंसामा केही घटना स्वतःस्फूर्त आक्रोशका परिणाम भए पनि केही आगजनी तथा आक्रमण योजनाबद्ध र लक्षित देखिएको उल्लेख गरेका छन्। मानवअधिकार संस्था ह्युमन राइट्स वाचले समेत घटनामा विभिन्न समूहको संलग्नता र लक्षित हिंसाका संकेतबारे उल्लेख गरेको छ।
मिश्रले भदौ २३ र २४ गतेका घटनाको वास्तविकता पत्ता लगाउन गहिरो अनुसन्धान आवश्यक रहेको बताउँदै नेपालको दीर्घकालीन हित, आन्तरिक शान्ति र क्षेत्रीय स्थायित्वका लागि नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको धारणा राख्नुभएको छ।
उहाँले घटनालाई केवल राजनीतिक आन्दोलन वा हिंसात्मक प्रदर्शनका रूपमा सीमित नगरी त्यसका पृष्ठभूमि, सहभागी पक्ष, सम्भावित बाह्य प्रभाव, योजनाकार र परिणामबारे गम्भीर अध्ययन गर्नुपर्नेमा जोड दिनुभएको छ।





प्रतिक्रिया राख्नुहोस्