इरान युद्ध नयाँ मोडमा, सहयोगी राष्ट्र उतार्ने अमेरिकी संकेत
वासिङ्टन। अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ चरणमा प्रवेश गर्ने संकेत गर्दै अमेरिकाका सहयोगी राष्ट्रहरू पनि त्यसमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा इरानको आणविक कार्यक्रमलाई रोक्ने मुख्य उद्देश्य हासिल भएको दाबी गर्दै अब युद्धको अर्को चरण कूटनीतिक तथा आर्थिक दबाबसँगै अन्तर्राष्ट्रिय सहकार्यमा केन्द्रित हुने संकेत गर्नुभएको छ।
फक्स न्युजसँगको अन्तर्वार्तामा सभामुख जोनसनले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु विगत पाँच दशकदेखि सबै अमेरिकी प्रशासनहरूको साझा उद्देश्य रहेको दाबी गर्नुभयो।
उहाँले इरानसँगको वार्तामा सबैभन्दा ठूलो चुनौती विश्वासको अभाव रहेको उल्लेख गर्दै “वार्ताको अर्को पक्षमा रहेका इरानी नेतृत्वलाई विश्वास गर्न सकिँदैन” भन्नुभयो। साथै, सहयोगी राष्ट्रहरूको सहभागिताले द्वन्द्व अन्त्यतर्फ अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो।
इरान युद्ध अमेरिकी आन्तरिक राजनीतिमा पनि प्रमुख मुद्दा बनेको छ। युद्ध लम्बिँदा ऊर्जा मूल्य र मुद्रास्फीति बढेको तथा पेट्रोलको मूल्य प्रतिग्यालन चार डलरभन्दा माथि पुगेकाले जनअसन्तुष्टि बढेको विश्लेषण भइरहेका बेला जोनसनले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले प्रतिनिधिसभाको बहुमत जोगाउने दाबी गर्नुभएको छ। यद्यपि उहाँले निर्वाचनअघि द्वन्द्व समाधान हुन सके त्यसले पार्टीलाई थप राजनीतिक लाभ पुग्ने स्वीकार गर्नुभयो।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि द्वन्द्व तीव्र बनेको थियो। त्यसक्रममा इरानका सर्वोच्च नेता अली खामेनीसहित केही वरिष्ठ अधिकारीको मृत्यु भएको दाबी गरिएको थियो।
त्यसपछि इरानले हर्मुज जलसन्धिमा समुद्री आवागमनमा अवरोध सिर्जना गर्नुका साथै मध्यपूर्वस्थित अमेरिकी सैन्य अखडामाथि ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो। त्यसयता पटक–पटक युद्धविरामका प्रयास भए पनि छिटफुट सैन्य गतिविधि र तनाव पूर्ण रूपमा अन्त्य भएको छैन।
पछिल्ला दिनहरूमा ट्रम्प प्रशासनले इरानमाथि सैन्य कारबाहीभन्दा आर्थिक दबाबलाई प्राथमिकता दिने संकेत दिएको छ। उपराष्ट्रपति जेडी भान्सले अमेरिका अहिले “आर्थिक दबाबको नयाँ चरण” मा प्रवेश गरेको बताउनुभएको छ भने ट्रम्प प्रशासनले इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक प्रतिबन्ध लागू गर्ने तयारी गरिरहेको जनाएको छ।
उता इरानले भने अमेरिकी दबाबलाई अस्वीकार गर्दै हर्मुज जलसन्धिमाथिको आफ्नो नियन्त्रण कायम रहने अडान दोहोर्याएको छ। इरानी राष्ट्रपति मसुद पेजेशकियनले बलियो अवस्थाबाट मात्र युद्ध अन्त्य गर्ने पक्षमा आफूहरू रहेको बताउँदै प्रतिबन्ध र आर्थिक दबाबका बीच पनि आत्मसमर्पण नगर्ने सन्देश दिनुभएको छ।
विश्वको करिब एक-पाँचौं तेल आपूर्ति हुने हर्मुज जलसन्धिको सुरक्षा अझै अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ। अमेरिकी पक्षले तेल ट्याङ्करहरूको आवागमन क्रमशः सहज बन्दै गएको दाबी गरे पनि इरानले जलमार्गमाथिको आफ्नो नियन्त्रण कायम रहेको बताइरहेको छ। यसले ऊर्जा बजार र विश्व व्यापारमा अनिश्चितता कायमै राखेको विश्लेषण गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्