राजनीति

सङ्गीत, खेलकुद र चलचित्र सेवा उद्योगकै रूपमा : बजेट सम्बन्धित मन्त्रालयमार्फत

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सङ्गीत, खेलकुद र चलचित्र क्षेत्रलाई नेपालको कानुनी व्यवस्थाअनुसार सेवामूलक उद्योगका रूपमा वर्गीकरण गरिएको स्पष्ट पार्नुभएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले यी क्षेत्रलाई उद्योगको मान्यता, बजेट तथा प्रवर्द्धनसम्बन्धी व्यवस्था बारे उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री यादवले औद्योगिक नीति, २०६७ र औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार सङ्गीत, खेलकुद र चलचित्र सेवा उद्योगको श्रेणीमा पर्ने बताउनुभयो।

उहाँका अनुसार यी क्षेत्र उद्योगका रूपमा दर्ता हुन सक्ने भए पनि प्रवर्द्धन, विकास, नियमन र बजेट व्यवस्थापनको जिम्मेवारी भने सम्बन्धित विषयगत मन्त्रालय र निकायमै रहने व्यवस्था छ। त्यसैले उद्योग मन्त्रालयले उद्योगका रूपमा मान्यता दिए पनि कार्यक्रम सञ्चालन तथा बजेट विनियोजन सम्बन्धित निकायबाट हुने उहाँले स्पष्ट पार्नुभयो।

मन्त्री यादवले आर्थिक वर्ष २०८३/८४ मा यी सेवामूलक उद्योगका लागि छुट्याइएको बजेट सम्बन्धित मन्त्रालयको मन्त्रालयगत बजेट सूचना प्रणाली मार्फत हेर्न सकिने जानकारी दिनुभयो।

नेपालमा चलचित्र, सङ्गीत र खेलकुद क्षेत्रलाई सिर्जनात्मक तथा सेवा उद्योगका रूपमा मान्यता दिइए पनि लगानी प्रवर्द्धन, कर सहुलियत, पूर्वाधार विकास तथा संस्थागत समन्वयका विषयमा लामो समयदेखि सरोकारवालाले थप नीतिगत सुधारको माग गर्दै आएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.