प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पूर्वउपसभामुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगर र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद रामबहादुर थापाले सदनमा प्रयोग गर्नुभएका केही अमर्यादित तथा असंसदीय शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले भदौ ३ गतेको बैठकमा व्यक्त गरिएका ती अभिव्यक्तिप्रति ध्यानाकर्षण गराउँदै संसद् सचिवालयलाई अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो।
भदौ ३ गतेको बैठकमा सांसद रानामगरले सरकार तथा राजनीतिक विषयमा धारणा राख्ने क्रममा ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ जस्ता शब्द प्रयोग गर्नुभएको थियो। उहाँको अभिव्यक्तिप्रति सत्तापक्षका सांसदहरूले आपत्ति जनाउँदै संसदीय मर्यादा कायम गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो।
त्यसै गरी एमाले सांसद थापाले सरकारको कार्यशैलीको आलोचना गर्ने क्रममा ‘अमेरिकाको इशारा’, ‘उत्तर कोरियाको शासन’ र ‘पाकिस्तान शैली’ जस्ता शब्द तथा प्रसङ्ग प्रयोग गर्नुभएको थियो। थापाको अभिव्यक्तिलाई लिएर पनि सदनमा आपत्ति जनाइएको थियो।
दुवै सांसदका अभिव्यक्तिलाई लिएर सांसदहरूबाट आपत्ति आएपछि सभामुख अर्यालले संसदीय मर्यादा र आचरण कायम राख्नुपर्ने बताउँदै असंसदीय ठहरिएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको हो।
सभामुख अर्यालले छिमेकी तथा मित्रराष्ट्रहरूको शासन प्रणाली वा राजनीतिक अभ्यासलाई नेपालको शासकीय व्यवस्थासँग जोडेर गलत अर्थ लाग्ने गरी सदनमा अभिव्यक्ति नदिन सांसदहरूको ध्यानाकर्षण समेत गराउनुभएको छ।
संसद् जनप्रतिनिधिहरूले सरकारका कामकारबाहीमाथि प्रश्न उठाउने, आलोचना गर्ने र वैकल्पिक धारणा प्रस्तुत गर्ने प्रमुख थलो भए पनि अभिव्यक्तिको स्वतन्त्रता संसदीय मर्यादाको सीमाभित्र रहनुपर्ने मान्यता छ।
पछिल्लो घटनाले राजनीतिक असहमति राख्दा व्यक्तिगत आक्षेप, आपत्तिजनक शब्द तथा विदेशी मुलुकका शासन प्रणालीसँग गरिने विवादास्पद तुलनाले संसद्को बहसको गुणस्तर र मर्यादामाथि प्रश्न उठाउने अवस्था देखिएको छ।




प्रतिक्रिया राख्नुहोस्