जन सरोकार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

“छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा कुरा गरेको तीन दिनपछि रसुवामा बाढीले सबै बगायो रे भन्ने सुनेँ । मेरी कान्छी बाँच्यो होला कि नहोला ?”

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ राजपुरकी ८३ वर्षीया खीमादेवी पुनमगरको आँखामा अहिले यही प्रश्न घुमिरहन्छ । चाउरी परेको अनुहार, धमिलिँदै गएको आँखामा टिलपिलाएका आँसु र हातमा पटुकाको फेरो । त्यही फेरोले आँसु पुछ्दै उहाँ रसुवाको चीन सीमा नजिक खाजा पसल सञ्चालन गर्दै आएकी कान्छी छोरी एकमाया पुन मगर (केसी) लाई सम्झनुहुन्छ ।

“छोरीले तिहारमा आउँछु भनेकी थिई । घर आउँछु भनेर फोन गरेकी छोरी आज कहाँ छे, के अवस्थामा छे भन्ने थाहा छैन”, खिमादेवीले भक्कानिँदै भन्नुभयो, “छोरी जीउँदै फर्केर आओस्, मलाई यत्ति चाहिएको छ ।”

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवामा जनधनको ठूलो क्षति पुर्याएपछि खीमादेवीको मनमा छोरीको चिन्ताले घर गरेको छ । भदौ १० गते बाढीले सबै बगाएर बगर बनाएको खबर उहाँले माइली बुहारी तिलाकुमारी पुनमगरबाट सुन्नुभएको थियो ।

बुहारीले मोबाइलमा बाढीको भिडियो देखाएपछि उहाँको मन झनै अत्तालियो । त्यसयता उहाँको आँखाले छोरी आउने बाटो कुरिरहेको छ । कानले छोरीको आवाज सुन्न खोजिरहेको छ । तर फोनको घण्टी बज्दैन । खबर आउँदैन । आउने हरेक सूचनाले आशाभन्दा बढी डर दिएको छ ।

“मलाई केही चाहिँदैन”, खीमादेवीले आँसु पुछ्दै भन्नुभयो, “मेरी छोरी फर्केर आओस् । उसले फोनमा भने जस्तै तिहारमा घर आओस् । म उसलाई आफ्नै आँखाले देख्न पाऊँ ।”

चौवालीस वर्षीया एकमाया विगत पाँच वर्षदेखि रसुवामा खाजाको पसल सञ्चालन गर्दै आउनुभएको थियो । श्रीमान् प्रकाश केसीसँग करिब १२ वर्षअघि कामको सिलसिलामा काठमाडौँ पुग्नुभएकी उहाँले पछि रसुवामा व्यवसाय सुरु गर्नुभएको थियो । दुई छोराकी आमा एकमायाको पसलमा आफ्नै आफन्त काम गर्न पुगेका थिए ।

बाढीपछि एकमाया पनि अन्य व्यक्ति जस्तै सम्पर्कविहीन हुनुभयो । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको बेपत्ताको विवरणमा उहाँको नाम समावेश भयो । तर त्यसको केही समयपछि उहाँको शव तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पूर्वबेँसी भन्ने स्थानमा भदौ ११ गते फेला परेको सरकारी विवरण सार्वजनिक भयो ।

तर, परिवारका लागि त्यो विवरणले अझै निश्चितता दिएको छैन । परिवारका सदस्यले त्यसलाई स्वीकार गर्न सकेका छैनन् । आमाको मनले त झन छोरीको मृत्यु भएको मान्न सकेको छैन ।

“मेरी छोरी नै हो भनेर म कसरी मानुँ ? उसले त घर आउँछु भनेर फोन गरेकी थिई”, खिमादेवीले भन्नुभयो, “मेरी छोरी कतै बाँचेर बसेकी पो छ कि ? एकपटक आएर आमा भनेर बोलाइदिए पुग्छ ।”

एकमायासँगै कामको सिलसिलामा रसुवा पुगेका उहाँकै भतिजी जानकी घर्तीमगर र भतिज सेतुनाथ योगी पनि बाढीपछि बेपत्ता हुनुहुन्छ । बेरोजगार रहेका आफन्तलाई रोजगारीसँगै साथसमेत हुने भन्दै एकमायाले आफ्नै खाजा पसलमा काम गर्ने अवसर दिनुभएको थियो । तर रोजगारीको खोजीमा रसुवा पुगेका उनीहरूको परिवार अहिले एक–एक फोन र एक–एक खबरको प्रतीक्षामा छ ।

राजपुर निवासी तिलक घर्तीमगरकी छोरी जानकी घर्तीमगर पनि अहिले बेपत्ताको सूचीमा हुनुहुन्छ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै दलालले रु पाँच लाख ठगेपछि सहकारीबाट लिएको ऋण तिर्नुपर्ने भएपछि जानकी एकमायाको पसलमा काम गर्न जानुभएको थियो । छोरीलाई रसुवा नजान आग्रह गरेको सम्झना गर्दै तिलकका आँखा रसाए ।

“मैले छोरीलाई फर्क, त्यहाँ काम गर्न पर्दैन भनेको थिएँ । बरु म यहाँ विद्युतीय रिक्सा किनिदिन्छु भनेको थिएँ”, उहाँले भन्नुभयो, “तर उसले मानिन । ‘हैन बुवा, म यतै काम सिक्छु, पछि आफ्नै व्यवसाय गर्छु भन्थी ।”

छोरीप्रति गर्व गर्दै उहाँले थप्नुभयो, “उ हाम्रो घरको छोरी होइन, छोरा थिई ।” छोरी बेपत्ता भएपछि भने त्यही घरमा अहिले सन्नाटा छ । खबर आउने आशामा परिवारको दिन बितिरहेको छ । “आजसम्म छोरीको कुनै खबर आएको छैन । मन आत्तिएको छ”, तिलकले रुँदै भन्नुभयो, “जिउँदै छे जस्तो पनि लाग्छ, छैन जस्तो पनि लाग्छ । उसलाई केही भयो भने हामी कसरी बाँच्ने ?”

तर शोकले घेरिए पनि तिलकको मनले छोरी फर्कने आशा छाडेको छैन । सरकारी खोजीबाट कुनै सकारात्मक खबर आउने र ढिलोचाँडो छोरी घर फर्कने विश्वासमा परिवार बसिरहेको छ ।

जानकीसँगै काम गर्न रसुवा पुग्नुभएका राजपुरकै ४७ वर्षीय सेतुनाथ योगीको परिवार पनि अहिले यस्तै आशामा छ । दश महिनाअघि कामका लागि रसुवा पुग्नुभएका सेतुनाथका घरमा श्रीमती टिका योगी र दुई साना छोरा छन् । ३० वर्षीया टिका अहिले दुई छोराको अनुहार हेर्दै श्रीमान्को बाटो कुरिरहनुभएको छ ।

“मेरा श्रीमानलाई केही भयो भने मैले यी साना बाबुलाई कसरी हुर्काउने ?” टिकाले रुँदै भन्नुभयो, “उहाँ बाँचेर घाइते भएर मात्रै भए पनि फर्केर आउनुभयो भने म सबै सम्पत्ति बेचेर भए पनि उपचार गराउँथेँ । मलाई उहाँ घर फर्किनुभएको हेर्नु छ ।”

बाढी आउनुभन्दा एक दिनअघि साँझ ५ बजे सेतुनाथले परिवारका सबै सदस्यसँग फोनमा कुरा गर्नुभएको थियो । आफू सुरक्षित रहेको र दसैँमा घर आउने बताउनुभएको थियो । त्यो फोन अहिले टिकाको मनमा बारम्बार दोहोरिन्छ ।

“उहाँले दसैँमा घर आउँछु भन्नुभएको थियो । त्यो आवाज अझै कानमा गुन्जिरहेको छ”, टीकाले भन्नुभयो, “दसैँ आउँदा उहाँ साँच्चिकै घर फर्किनुहुन्छ कि भन्ने आशा छ ।”

सेतुनाथका ७६ वर्षीय बुवा हीरानाथ योगीका लागि छोरा बुढेसकालको सहारा हुनुहुन्थ्यो । छोरा बेपत्ता भएको खबरपछि उहाँको अवस्था झनै कमजोर बनेको छ ।

“मेरो बुढेसकालको सहारा थियो मेरो छोरो । के भयो नि यस्तो ?” हिरानाथले भक्कानिँदै भन्नुभयो, “मेरो छोरो बाँचेर आइदिए हुन्थ्यो । मेरो यति मात्र चाहना हो ।”

उहाँका लागि अहिले धनसम्पत्ति, घरव्यवहार वा अन्य कुनै कुरा महत्त्वपूर्ण छैन । बाँचेर छोरा फर्किए पुग्छ । “छोरो घरको ढोकामा आइपुगेको हेर्न पाएँ भने अरू केही चाहिँदैन”, उहाँले भन्नुभयो ।

रसुवाको भोटेकोशी बाढीले राजपुरका अर्का २३ वर्षीय सुरेश विकलाई परिवारबाट टाढा बनाएको छ । भारतको हिमाचल प्रदेशमा बस्दै आएका सुरेश गाडीको लाइसेन्स बनाउने प्रक्रियाका लागि नेपाल आउनुभएको थियो । लाइसेन्सको प्रक्रिया पूरा हुन समय लागेपछि रसुवामा चिनियाँ सामान ओसारपसार गरी व्यापार गर्ने भन्दै उहाँलाई बोलाइएको थियो ।

सुरेशकी काकी पवित्रा विकका अनुसार उहाँले बाढी आउनुभन्दा एक दिनअघि अर्थात् भदौ ९ गते साँझ परिवारसँग फोनमा कुरा गर्नुभएको थियो । “सुरेशले फोन गरेर काम राम्रै चलेको छ भनेको थियो । दसैँमा घर आउँछु भनेको थियो”, पवित्राले भन्नुभयो, “त्यसपछि एकाएक बाढी आएको खबर आयो । अहिले उसको फोन आउँदैन ।”

फोन नआए पनि परिवारले प्रतीक्षा गर्न छाडेको छैन । “हामीलाई अझै पनि सुरेश कतै सुरक्षित छ कि भन्ने आशा छ”, उहाँले भन्नुभयो, “कुनै ठाउँमा उद्धार भएर बसेको भए एकपटक खबर गरिदिए पनि हाम्रो मन शान्त हुन्थ्यो ।”

बाढीले घर, पसल, सडक र सम्पत्ति मात्र बगाएको छैन, धेरै परिवारको जीवनको भरोसा र भविष्यसमेत अनिश्चित बनाएको छ । रसुवाको घटनापछि बाँकेका परिवारमा आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डर एकसाथ छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङ्कअनुसार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बाँकेसँग सम्बन्धित २७ जना बेपत्ता भएका छन् । उनीहरूको परिवार अहिले सरकारी खोजी र उद्धार टोलीबाट आउने खबरको प्रतीक्षामा छन् ।

प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीले अकल्पनीय धनजनको क्षति पुर्याएको बताउँदै बेपत्ता व्यक्तिहरूको फोटोसहितको प्रोफाइल तयार गरी खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभएको छ ।

तर सरकारी तथ्याङ्कमा नाम चढ्नु र परिवारको मनले आफन्तलाई गुमाउनु एउटै कुरा होइन । आफन्त बेपत्ता हुँदासम्म परिवारले अन्तिम सत्य स्वीकार गर्न चाहँदैन । एउटा फोन, एउटा सन्देश वा उद्धारकर्ताको एउटा सकारात्मक खबरले उनीहरूको आशालाई फेरि बलियो बनाइदिन्छ ।

खीमादेवीको घरमा पनि त्यही आशा बाँकी छ । तिलक घर्तीमगर छोरीको बाटो हेरिरहनुभएको छ । टीका योगी दुई साना छोरालाई काखमा च्यापेर श्रीमान् फर्कने प्रार्थना गरिरहनुभएको छ । हिरानाथ योगी बुढेसकालको सहारा फर्केर आउने सपना देखिरहनुभएको छ । पवित्रा विक सुरेशको फोन आउने प्रतीक्षामा हुनुहुन्छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.