जन सरोकारबिशेष

भोटेकोशीको भीषण बाढी, सशस्त्र प्रहरी टोली सम्पर्कविहीन

चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि आएको भीषण बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत सीमावर्ती तथा तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको आशंका गरिएको छ।

बाढीका कारण टिमुरेस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) सुरक्षित रहे पनि कार्यक्षेत्रमा ड्युटीमा खटिएको प्रहरी टोलीसँग सम्पर्क हुन सकेको छैन।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार टिमुरेमा रहेको बिओपीमा क्षति पुगेको छैन। तर बाढी आउँदा गस्ती तथा सुरक्षा ड्युटीमा खटिएको टोलीसँग सम्पर्क टुटेको उहाँले जानकारी दिनुभयो।

“टिमुरेमा रहेको बिओपी सुरक्षित छ, तर ड्युटीमा खटिएको टोलीसँग सम्पर्क हुन सकेको छैन। प्रभावित क्षेत्रमा रहेका प्रहरी टोलीसँग सम्पर्क गर्ने र उनीहरूको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ,” सहप्रवक्ता थापाले भन्नुभयो।

बाढीका कारण टिमुरे, स्याफ्रुबेँसीदेखि त्रिशूली नदीको तटीय क्षेत्रसम्म सडक, पुल, बस्ती तथा अन्य संरचनामा क्षति पुगेको हुन सक्ने सुरक्षा निकायले जनाएको छ। घटनाको विस्तृत विवरण भने उद्धार तथा खोजी कार्य अघि बढेपछि मात्र स्पष्ट हुने बताइएको छ।

उद्धार तथा विपद् व्यवस्थापनका लागि सेना परिचालन

बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रबाट बाढीले क्षति पुर्‍याएको जानकारी प्राप्त हुनासाथ सेनाको उद्धार टोली परिचालन गरिएको हो।

खोज तथा उद्धारका लागि सेनाका दुई हेलिकप्टर त्रिशूली बजारमा अवतरण गराइएको छ। त्रिशूली जिल्ला अस्पतालमा आपत्कालीन चिकित्सकीय टोलीसमेत परिचालन गरिएको छ।

धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा पठाइएको छ भने गजुरीस्थित बाहिनीको ६ नम्बर अड्डाबाट विपद् व्यवस्थापनमा दक्ष जनशक्ति परिचालन गरिएको छ।

तटीय जिल्लामा उच्च सतर्कता

भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको जानकारीपछि नेपाल प्रहरीले त्रिशूली नदीको तटीय क्षेत्रका जिल्लालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो।

प्रहरीले अर्को सूचना जारी नभएसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखालगायत जिल्लाका नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

विगतमा पनि भोटेकोशीमा आएको थियो विनाशकारी बाढी

नेपाल–चीन सीमावर्ती भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा हिमताल फुट्ने, अत्यधिक वर्षा हुने वा पहिरोका कारण नदी थुनिएर एक्कासि बाढी आउने घटना विगतमा पनि पटक–पटक भएका छन्।

विशेष गरी मनसुनका बेला माथिल्लो तटीय क्षेत्रमा हुने प्राकृतिक घटनाले तल्लो तटीय क्षेत्रमा कुनै पूर्वसूचनाबिना बाढी आउने जोखिम रहँदै आएको छ।

भोटेकोशीमा आएको बाढीले यसअघि पनि सीमावर्ती बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा व्यापारिक संरचनामा क्षति पुर्‍याउँदै आएको छ।

सन् २०२० मा सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै सडक, पुल र जलविद्युत् संरचनामा व्यापक क्षति पुर्‍याएको थियो। त्यसयता सीमावर्ती तथा तटीय क्षेत्रमा बाढीको पूर्वसूचना, निगरानी र उद्धार तयारीलाई प्राथमिकता दिइँदै आएको छ।

टिमुरे–रसुवागढी क्षेत्र नेपाल–चीन व्यापार, आवागमन र सीमा सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र हो। यस क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी उपस्थिति रहँदै आएको छ। बुधबारको बाढीपछि सम्पर्कविहीन बनेको प्रहरी टोलीको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले प्रयास जारी राखेका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.