ढुङ्गेमा यातायात सञ्चालन
नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको छ ।
भोटेकोशी बाढीले क्षति पुर्याएका सडक तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ ।
ढुङ्गेबजारको बस्ती र सडकमा पुगेको क्षति तथा डुबानको अवरोध हटाई आवागमन सहज गराइएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक सञ्चालन भएसँगै उक्त क्षेत्रमा शव व्यवस्थापन, क्षति पुग्न बाँकी घरको सामग्री सङ्कलनसहित बेत्रावतीसम्म पुग्न सहज भएको छ । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “क्षति पुगेका सडक मर्मतका लागि यन्त्रउपकरणसहित जनशक्ति पठाउन सजिलो भएको छ ।”
ढुङ्गेलगायत क्षेत्रमा अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाले हेभी उपकरणसहित जनशक्ति उपलब्ध गराएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले अत्यावश्यक सहयोग गरेका थिए ।




प्रतिक्रिया राख्नुहोस्