जन सरोकार

भोटेकोशी बाढीमा वेपत्ता तीन भाइ फर्कने आशमा रामकुमार

रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका भाइहरू घर आउन सक्ने प्रतीक्षामा रहेको जानकारी दिनुभयो ।

उहाँका सबै भाइ रसुवास्थित अपरत्रिशूली–१, जलविद्यत् आयोजनामा कार्यरत हुनुहुन्थ्यो । माइलो ३५ वर्षीय शिवकुमार यादव सुपरभाइजर, साइँलो ३१ वर्षीय देवकुमार यादव इन्जिनियर र कान्छो २५ वर्षीय सचित ओभरसियर पदमा कार्यरत हुनुहुन्थ्यो ।

“घरमा चुलो नबलेको एक हप्ता भयो, भाइहरूकै सम्झानाले सताइरहेको छ”, रामकुमारले भन्नुभयो । “भाइहरू अहिलेसम्म सम्पर्कमा नआए पनि झिनो आशामा उनीहरू घर आउने प्रतीक्षामा हामी छौँ”, उहाँले भन्नुभयो ।

स्थानीय विनोद साहका अनुसार ७० वर्षीया आमा छिनछिनमा छोरा ल्याइदेऊ, छोराहरूबिना कसरी बस्नु भन्दै बेलाबेलामा मुर्छित हुनुहुन्छ । आमा र सम्पर्कविहीन हुनुभएका दाजुभाइका पत्नीहरूको अवस्था पनि दःुखद् छ । कतिबेला श्रीमान् भेटिएला र खबर आउँला भन्ने पर्खाइमा उहाँहरू कुरिरहनुभएको छ ।

माइलो, शिवकुमारको विवाह भएको पाँच वर्ष भयो । उहाँका दुई सन्तानसमेत छन् । साइँलो छोरा देवकुमारको यही वैशाखमा विवाह भएको हो । कान्छो सचित भने अविवाहित हुनुहुन्थ्यो । तीनवटै छोराहरू रसुवामा काम गर्न थालेपछि सुखी थियो यादव परिवार ।

शिवकुमारको पत्नीसँग बाढी गएको दिन बिहान भलाकुसारी भएको थियोे । बाढी आउने कुनै अत्तोपत्तो थिएन । एक्कासी सम्पर्कविहीन भएको उहाँकी पत्नीले बताउनुभयो ।

बुबा लालबहादुर भने छोराहरूको खोजीका लागि रसुवा गएको चार दिन बित्यो । छोराहरूसँग कतै सम्पर्क हुन सकेन । लालबहादुरले भन्नुभयो ।

उहाँहरूको जस्तै विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका ३६ वर्षीय इन्जिनियर अजयकुमार यादवको परिवारको पीडा उस्तै छ । अजय पनि बाढी आएकै दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ । उहाँ रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा कार्यरत शिक्षक हुनुहुन्थ्यो ।

उहाँ सोही ठाउँमा डेरा लिएर बस्दै आउनुभएको थियो । बाढी आएकै दिनदेखि अजय सम्पर्कमा नआएपछि उहाँको घरमा सन्नाटा छाएको छ । घरमा चुलोसमेत बल्न सकेको छैन । उहाँको आमाबुबा छिनछिनमा मुर्छित् पर्दै आउनुभएको छ । अन्य परिवार चिन्तामा हुनुहुन्छ ।

उहाँको मामाका छोरा श्यामसुन्दर यादव भाइको खोजीमा रसुवासम्म पुग्नुुभयो । भाइको कुनै पत्तो नलागेको जानकारी दिनुभयो । रसुवाकै मेलुङ्ग–५ एमभी हाइड्रोपावरमा कार्यरत सुरुङ्गा नगरपालिका–२ का सरोज चौधरी पनि भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ ।

उहाँको अवस्थाबारे यथाशीघ्र सार्वजनिक गर्न परिवारले सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ । सुरुङ्गा नगरपालिका–७ बसानपट्टीका एक आमाछोरा पनि बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ । बसानपट्टीका दुर्गानन्द रामकी पत्नी गीता राम र उनका तीन वर्षीय छोरा दिवासकुमार राम बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ ।

दुर्गानन्द राम करिब तीन वर्षअघि मोटरसाइकल ग्यारेजमा काम गर्न नुवाकोटको त्रिशूली बजारमा पत्नी र छोरासहित बस्दै आउनुभएको थियोे । दुर्गानन्द राम सकुशल रहे पनि आमाछोरा अझै सम्पर्कविहीन हुनुहुन्छ ।

यता नुवाकोट, हाइड्रोपावरमा कामदारका रूपमा कार्यरत खडक नगरपालिका–५ रञ्जितपुरका २८ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको पुष्टि भएको छ । उहाँको शव गण्डकी अस्पताल कास्की, पोखरामा पहिचान गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “बेपत्ताको खोजीकार्य जारी छ । कुनै सूचना आए पीडितपरिवारलाई तत्काल जानकारी दिन्छौँ ।”

बाढीका कारण बोदेबरसाइन नगरपालिका आसपासका झन्डै ४८ व्यक्ति अहिलेसम्म सम्पर्कमा आउन नसकेपछि उनीहरूको परिवार पीडामा छ । सुरूङ, टनेलमा फसेकाको तत्काल उद्धार गर्न पीडितपरिवारले सरकारसँग माग गरेका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालयको मङ्गलबारको तथ्याङ्कअनुसार रसुवा बाढीमा १६४ जना अझै सम्पर्कविहीन छन् भने १९५ जना बेपत्ता भएकामा ३० जना सम्पर्कमा आइसकेका छन् । एक जनाको मृत्युु भएको पुष्टि भएको छ । सप्तरीका ४९ जनामध्ये एक जना सम्पर्कमा र एक जनाको मृत्युु भएको छ ।

रसुवा भोटेकोशी नदीमा आएर भएको बाढीले जनधनको क्षति र एक जनाको मृत्युु र ४८ जना सम्पर्कविहीन भएपछि सिङ्गो सप्तरी यतिबेला शोकमा डुबेको छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.