राजनीति

यतिबेला शरीर थकित भयो भनेर विश्राम लिने छुट हामीलाई छैन : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले विपद्को कठिन घडीमा सरकारलाई थकित भएको भन्दै विश्राम लिने कुनै छुट नभएको स्पष्ट गर्नुभएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उहाँले प्राकृतिक विपत्तिले मुलुकलाई गम्भीर संकटमा पुर्‍याएको अवस्थामा सरकार जनताको जीवनरक्षा, उद्धार, राहत र पुनःस्थापनाका लागि चौबीसै घण्टा खटिरहेको बताउनुभयो।

प्रधानमन्त्री शाहले सङ्कटको यस्तो संवेदनशील घडीमा राज्यको नेतृत्वले निराशा र आँसु होइन, जनतालाई साहस, आड र भरोसा दिनुपर्ने दायित्व निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो।

कठिन परिस्थितिमा सरकार आफ्नो जिम्मेवारीबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले विपद्सँग जुध्न दृढ संकल्पका साथ अघि बढिरहेको बताउनुभयो।

“यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिए पनि एक–आपसमा बिलौना गरेर बस्ने समय होइन। देश र नागरिकप्रतिको जिम्मेवारी पूरा गर्न हामी निरन्तर खटिरहेका छौँ,” प्रधानमन्त्री शाहले भन्नुभयो।

उहाँले विपत्तिसँग जुध्नु सरकारको बाध्यता मात्र नभई राष्ट्रिय दायित्व भएको उल्लेख गर्दै भन्नुभयो, “सोही दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन। हामी निरन्तर लडिरहेका छौँ र अन्तिम नागरिक सुरक्षित नभएसम्म हाम्रो प्रयास जारी रहनेछ।”

प्रधानमन्त्री शाहले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको स्मरण गर्नुभयो।

आफ्ना सपना बुन्दै गरेका बालबालिका, परिवारसँग हाँसी–खुसी जीवन बिताइरहेका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकैछिनमा बाढीले खोसेर लगेको उल्लेख गर्दै उहाँले यस अकल्पनीय विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो।

उहाँले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। अझै पनि आफ्ना आफन्तको खोजीमा प्रतीक्षारत परिवारको पीडा सरकारले नजिकबाट महसुस गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको जानकारी दिनुभयो।

“यो पीडा रसुवा, नुवाकोट वा धादिङका नागरिकको मात्र होइन, सिङ्गो नेपालको साझा पीडा हो। बाढीमा परेका नागरिकको कारुणिक चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ। आफ्ना प्रियजनको खोजीमा दिनरात पर्खिरहेका परिवारको वेदना शब्दमा व्यक्त गर्न सकिँदैन,” उहाँले भन्नुभयो।

प्रधानमन्त्री शाहले सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण, अस्थायी आवासको व्यवस्था, उपचार सेवा तथा आवश्यक पूर्वाधार पुनःस्थापनाको कामलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो।

खोज तथा उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह, स्वयंसेवी संस्था तथा स्थानीय समुदायको समन्वयमा निरन्तर काम भइरहेको उहाँले बताउनुभयो।

उहाँले बाढी प्रभावित नागरिकको जीवनरक्षा, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक स्रोत–साधन परिचालन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै राजनीतिक दल, सरकारी निकाय, निजी क्षेत्र तथा आम नागरिकलाई एकताबद्ध भएर विपद् व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभयो।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभालाई सम्बोधनका क्रममा बाढी प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेका उद्धार, राहत, उपचार, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यक्रमबारे पनि विस्तृत जानकारी गराउँदै प्रभावित नागरिकलाई कुनै पनि अवस्थामा एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.