अर्थजन सरोकार

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११ घण्टासम्म पनि काम गर्छु । कामअनुसार पारिश्रमिक पाइन्छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–५ की बबिता बस्नेत भन्नुहुन्छ, “प्लाइ उद्योग स्थापना भएदेखि नै यहाँ काम गर्दै आएकी छु ।”

उद्योगले गाउँमै रोजगारी दिएपछि परिवारको आर्थिक आवश्यकता पूरा गर्न सहज भएको उहाँ बताउनुहुन्छ । “यहाँ आएर काठका पाता बोक्ने, टिप्ने, सुकाउने तथा गाडीमा सामान राख्ने तथा झार्ने काम गर्छु । यहाँबाट कमाएको पैसाले घरपरिवारको दैनिक खर्च तथा बालबालिकाको खाजा खर्च जुटाउन सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।

जितमाया श्रेष्ठ र सुरेश साहको संयुक्त लगानीमा भेनियर उत्पादनसँगै गाउँमै रोजगारी बढाउने उद्देश्यले २०८१ साल माघमा स्थापना गरिएको प्लाइउड उद्योगले २०८२ वैशाखदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो ।

उद्योगका व्यवस्थापन तथा लेखा प्रमुख दीपक रानामगरका अनुसार, स्थानीय रोजगारीका लागि उद्योग प्रभावकारी देखिएको छ । वराहक्षेत्र–५ कालाबन्जरमा ७२ कट्ठा जग्गा लिजमा लिएर रु एक करोड ५० लाख बराबरको लगानीमा सञ्चालित उद्योगमा हाल वराहक्षेत्रका ६० देखि ६५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

उद्योगमा अधिकांश श्रमिक महिला छन् । स्थानीयस्तरमा पुरुष श्रमिक पाउन कठिनाइ भएपछि महिलाको सङ्ख्या बढी रहेको मगरले बताउनुभयो । उद्योगले दैनिक ८० हजारदेखि एक लाख स्क्वायरफिटसम्म भेनियर उत्पादन गर्दै आएको छ ।

श्रमिक रोशन चौधरी भन्नुहुन्छ, “गाउँमै उद्योग खुलेपछि रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता कम भएको छ । यहीँ बसेर काम गर्न पाउँदा परिवारसँगै बस्न पाइएको छ । यहीँबाट कमाएको आम्दानीले घरखर्च चलाउन सहयोग पुगेको छ ।”

श्रमिकलाई कामअनुसार प्रतिघण्टाका दरले पारिश्रमिक दिने गरिएको छ । उत्पादन सुरु गर्दा दक्ष प्राविधिक जनशक्तिको अभाव भएपछि भारतबाट प्राविधिक ल्याएर मेसिन सञ्चालन गर्नुपरेको मगरले बताउनुभयो ।

“अहिले नेपाली श्रमिकले पनि मेसिन सञ्चालनलगायतका काम सिक्दै गएकाले सहज भएको छ, हाम्रो चाहाना यहीँका स्थानीयलाई रोजगार दिन सकौ भन्ने हो”, मगरले भन्नुभयो ।

उद्योगले भेनियर उत्पादनका लागि उत्तिस, कटुस र केही चिलाउने जातका गोलिया काठ प्रयोग गर्दै आएको छ । आवश्यक काठमध्ये अधिकांश तेह्रथुमबाट ल्याइन्छ भने खोटाङ, भोजपुरलगायत पहाडी जिल्लाबाट पनि काठ ल्याउने गरिएको मगरले जानकारी दिनुभयो ।

गोलिया काठलाई मेसिनमार्फत पातलो तहमा काटेर भेनियर तयार गरिन्छ । तयार भेनियर इटहरी, इनरुवा, झापा, नेपालगन्ज र कोहलपुरलगायतका प्लाइउड उद्योगमा बिक्री हुँदै आएको छ । भारतको उत्तर प्रदेश, राजस्थान र सिलीगुडीसम्म पनि भेनियर पठाउने गरिएको मगरले बताउनुभयो ।

उद्योगले हाल वार्षिक रु पाँच करोड बराबर कारोबार गर्दै आएको छ । भेनियर उत्पादनका क्रममा निस्कने दाउरा, काठका टुक्रा तथा अन्य खेर जाने सामग्री बिक्री गरेर उद्योगले थप आम्दानी गर्दै आएको छ ।

ठूला दाउरा एक ट्रकको रु पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । यस्तै साना तथा सडेर जाने प्रकृतिका काठका टुक्रा प्रतिकिलो रु तीनदेखि पाँचसम्म बिक्री हुने गरेको उद्योगले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.