सामुदायिक प्रहरीलाई समेत विपद् व्यवस्थापनमा परिचालन गरिने
भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा आवश्यक उद्धार कार्य, खोजी, राहत वितरणलगायत विस्थापित नागरिकको जनधनको सुरक्षालाई मध्येनजर गरी सामुदायिक प्रहरीलाई थप क्रियाशील बनाउन नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रभावित जिल्लामा परिपत्र गरिएको छ ।
बेपत्ताहरूको खोजीलाई प्राथमिकतामा राखी बाढी प्रभावित क्षेत्रका नदी किनारा, भग्नावशेष संरचनालगायत स्थानमा सामुदायिक प्रहरीको टोली परिचालन गरी खोजीलाई थप प्रभावकारी बनाउन जोड दिइएको हो ।
प्रभावित नागरिकको मनोभाव बुझी व्यवहार गर्ने, शव पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता, सवारीसाधन सञ्चालन र यात्रामा सहयोग, भिडभाड तथा आपतकालीन अवस्थामा माइकिङलगायत काम गर्ने गरी सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ ।
विस्थापित नागरिकको जनधनको सुरक्षाका लागि निरन्तर रूपमा गस्ती तथा निगरानी गर्न तथा प्रभावित क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत अन्य संवेदनशील वर्गविरूद्ध हुन सक्ने हिंसा तथा दुव्र्यवहारप्रति थप संवेदनशील भई कार्य गर्न समेत सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको छ ।





प्रतिक्रिया राख्नुहोस्