भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै
धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८ चुरेफेदस्थित भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण भइरहेको छ ।
ऐतिहासिक धामलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नका लागि साविकका ७५ वटा जिल्ला चिनाउने ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुन लागेको हो ।
नेपालको पूर्व र पश्चिमलाई धार्मिक पर्यटनले जोड्ने उद्देश्यका साथ २०७५ सालदेखि काम थालिएको मूर्ति निर्माण समितिका अध्यक्ष जनक जोशीले जानकारी दिनुभयो ।
“जगत्गुरु मोहनशरण देवाचार्यको अभियानमा मूर्ति निर्माण सुरु भएको हो”, उहाँले भन्नुभयो, “मूर्तिको ३९ फिट ढलान भइसकेको छ, बजेट अभावले केही समय निर्माण प्रभावित भएको थियो यसपटक प्रदेश सरकारबाट बजेट आएको छ ।” उहाँले मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष जोशीका अनुसार हाल समितिसँग १५ टन पित्तल मौज्दात छ । जगत्गुरु मोहनशरण देवाचार्यले २०७२ वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रमा गर्ने क्रममा २२ टन तामा, पित्तललगायत धातु सङ्कलन गर्नुभएको उहाँले बताउनुभयो ।
सोबाहेक यहाँका स्थानीयको धातु सहयोगबाट मूर्ति निर्माण भइरहेको उहाँको भनाइ छ । मूर्ति निर्माणका लागि २०७४ सालमा निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सनसँग १० करोड ८० लाखमा सम्झौता भएको थियो ।
भम्केनी धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुरन खत्रीले भम्केनी धामका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा रु तीन करोड २७ लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
“हाम्रो प्राथमिकता मूर्ति निर्माण हो । यसबाहेक पर्यटकको सहजताका लागि अन्य संरचना पनि निर्माण गर्नेछौँ”, उहाँले भन्नुभयो, “जगत्गुरु देवाचार्यले यहाँ धार्मिक कार्य गर्न थालेपछि धाममा चहलपहल हुन थालेको हो ।”
अध्यक्ष खत्रीका अनुसार धाममा सुदूरपश्चिमका नौ वटै जिल्लाका अलग अलग कुण्डहरू निर्माण गरिएका छन् । पछिल्लो समय यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको उहाँको भनाइ छ । “नेपालका विभिन्न जिल्लाबाट धामको दर्शनका लागि भक्तजन आउने गरेका छन्”, उहाँले भन्नुभयो, “नेपाल आमाको मूर्ति निर्माणपछि धाम धार्मिक पर्यटनको केन्द्र बन्ने अपेक्षा छ ।”
धाममा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको फरक फरक कुण्ड निर्माण गरिएकाले यसले सुदूरपश्चिमका नौ वटै जिल्लाका धार्मिक पर्यटक पनि यहाँ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।(रासस)




प्रतिक्रिया राख्नुहोस्