राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही नरहेको स्पष्ट पार्दै यी मूल्यमान्यतामाथि आँच पुर्याउने जोकोही कानुनी कारबाहीको भागीदार हुनुपर्ने बताउनुभएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले संविधान र लोकतन्त्रको रक्षा तथा सम्मानमा पार्टी स्पष्ट रहेको बताउनुभयो ।
‘संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो केही छैन । कोही छैन । रास्वपा यसमा स्पष्ट छ, रवि लामिछाने यसमा स्पष्ट छ,’ उहाँले भन्नुभयो ।
संविधान र लोकतन्त्रमाथि आँच आउने कुनै पनि गतिविधि कसैले गरेको भए त्यसको जिम्मेवारी लिनुपर्ने र कानुनी सजायको भागीदार हुनुपर्ने उहाँको भनाइ थियो ।
यसैबीच, रास्वपाको सचिवालय बैठकले न्याय क्षेत्रको समग्र पुनर्संरचना तथा पछिल्लो समय न्यायालयबारे सार्वजनिक भएका प्रश्न र विवादको निरुपणका लागि संसदीय प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकपछि प्रवक्ता जगदीश खरेलले न्याय क्षेत्रको पुनर्संरचना आवश्यक रहेको पार्टीको निष्कर्ष सुनाउँदै त्यसका लागि संवैधानिक बाटो संसद् नै भएकाले प्रक्रिया अघि बढाउन संसदीय दललाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार न्याय क्षेत्रसँग सम्बन्धित विषयमा संसदीय समितिमार्फत आवश्यक प्रक्रिया अघि बढाउन पनि निर्देशन दिइएको छ । यसमा महाभियोगको प्रक्रिया अघि बढाउने, छानबिन गर्ने वा अन्य कुन प्रक्रिया अपनाउने भन्ने विषय भने सम्बन्धित संसदीय समितिले टुंग्याउने उहाँले बताउनुभयो ।
न्याय क्षेत्रको समग्र पुनर्संरचना आवश्यक रहेको महसुस गर्दै संसद्मार्फत प्रक्रिया अघि बढाउन पार्टीले निर्णय गरेको खरेलको भनाइ छ ।
रास्वपाले संविधान, लोकतन्त्र, विधिको शासन र मानवअधिकारका मूल्यमान्यताको सम्मान गर्दै सामाजिक लोकतन्त्रको अवधारणाअनुसार अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्