जन सरोकार

प्रहरीको स्वीप अपरेशन : एक हप्तामा ८२ जना फरार कसुरदारसहित ६४० जना पक्राउ

काठमाडौं उपत्यकामा प्रहरीले एक सातासम्म चलाएको स्वीप अपरेशनका क्रममा विभिन्न आपराधिक गतिविधिमा संलग्न तथा फरार कसुरदातासहित ६ सय ४० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत कात्तिक ९ देखि १६ गतेसम्म अदालतको फैसला कार्यान्वयन, चालु मुद्दाका प्रतिवादी पक्राउ तथा सार्वजनिक शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

यस अवधिमा अदालतबाट कैद तथा जरिवानाको सजाय फैसला भई फरार रहेका ८२ जना, चालु मुद्दाका २० जना प्रतिवादी, २०८२ भदौ २३ र २४ गतेको घटनापछि कारागारबाट फरार भएका दुई जना तथा हिरासतबाट फरार एक जना थुनुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, सार्वजनिक स्थल, यातायात, भीडभाड हुने क्षेत्र तथा रात्रिकालीन समयमा सार्वजनिक शान्ति सुव्यवस्था र मर्यादाविपरीतका गतिविधि गर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकमाथि अभद्र व्यवहार गर्ने वा गर्न सक्ने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरीले दैनिक रूपमा ‘सर्च एण्ड स्वीप अपरेसन–२४र७–३६५’ अभियान सञ्चालन गर्दै आएको छ।

उक्त अभियानअन्तर्गत एक सातामा ६४० जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई सम्झाइबुझाइ गरी छाड्नेदेखि कानुनबमोजिम अन्य कारबाहीसमेत गरिएको प्रहरीले जनाएको छ। प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना पनि निरन्तर कार्यान्वयन गरिरहेको जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.