गण्डकीप्रदेश

नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । सोमबार लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले अस्पतालको स्तरोन्नति, जनशक्ति व्यवस्थापन र सेवा विस्तारलाई प्राथमिकता दिएको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकारले विभिन्न जिल्लामा रहेका १४ वटा अस्पतालको स्तरोन्नति गरिरहेको छ । प्रदेशका अस्पतालमा उपलब्ध शय्या सङ्ख्या पहिलेको २५० बाट बढाएर हाल ८५० पुर्‍याइएको जनाउँदै उहाँले सोहीअनुसार स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति पनि थप गर्दै लगिएको उहाँले बताउनुभयो ।

आवश्यकताअनुसार करारमा कर्मचारी नियुक्त गरी सेवा विस्तार भइरहेको उल्लेख गर्दै उहाँले पहिलेको तुलनामा अहिले धेरै नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको बताउनुभयो ।

प्रदेश अस्पताल बेँसीसहरले धेरै नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले अस्पतालमा सिटी स्क्यान सेवा आवश्यक रहेको उल्लेख गर्नुभयो । सिटी स्क्यानलगायत अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने विषयमा प्रदेश सरकारले ध्यान दिने उहाँको भनाइ छ ।

आगामी बजेटमा सिटी स्क्यान सेवा विस्तारका लागि प्राथमिकता निर्धारण गर्दा लमजुङ अस्पताल अग्रपङ्तिमा राखिने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाउनुभयो ।

आगामी एक वर्षभित्र प्रदेश सरकारले पुन: बजेट निर्माण गर्ने अवसर पाउने भएकाले सो समयमा अस्पतालको आवश्यकता र नागरिकको चापलाई ध्यानमा राखेर आवश्यक बजेट व्यवस्थापनका लागि पहल गरिने उहाँले बताउनुभयो ।

प्रदेशमा डायलाइसिस सेवा लिन प्रतीक्षामा रहेका ८२१ जनाको सङ्ख्यालाई शून्यमा झार्ने लक्ष्यसहित प्रदेश सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । मिर्गौलाका बिरामीले समयमै उपचार सेवा पाउने व्यवस्था मिलाउन डायलाइसिस सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो ।

स्वास्थ्य सेवाको पहुँच सहरी तथा सदरमुकाम क्षेत्रमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रका नागरिकसम्म पुर्‍याउने प्रदेश सरकारको योजना रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

करारमा नियुक्त स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरी गाउँगाउँका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने प्रयास भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रदेशको सीमित बजेट र न्यून आन्तरिक आम्दानीका कारण अपेक्षाअनुसार विकास निर्माण तथा स्वास्थ्य क्षेत्रको स्तरोन्नति गर्न कठिनाइ भइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

प्रदेशको विकासका लागि ठूलो बजेट आवश्यक पर्ने भए पनि कर तथा अन्य स्रोतबाट अपेक्षित आम्दानी सङ्कलन हुन नसक्दा विकासका काममा चुनौती देखिएको उहाँले बताउनुभयो । उहाँले गण्डकी प्रदेशका लमजुङ, दमौली र स्याङ्जाका अस्पतालमा भवन निर्माण तथा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यी तीन वटै अस्पतालको भवन निर्माणका लागि करिब रु दुई अर्ब रकम आवश्यक पर्ने भए पनि प्रदेश सरकारले एकै पटक उक्त बजेट विनियोजन गर्न नसक्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

लमजुङ अस्पतालको भवन निर्माणका लागि गत वर्ष रु ६९ करोडको योजना अघि सारिएको भन्दै विभिन्न कारणले बजेट विनियोजन हुन नसकेको उहाँले जानकारी दिनुभयो । चालु अवस्थामा कूल योजनाको २० प्रतिशत रकम विनियोजन गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले स्थानीय तहमा अस्पताल निर्माण तथा सञ्चालन गरेर नागरिकलाई थप स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.