राजनीति

पहाड छिचोल्दै फास्ट ट्रयाक, सेनाको काममा राष्ट्रपतिको प्रशंसा

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा नेपाली सेनाले देखाएको व्यावसायिक दक्षता, कार्यकुशलता र समर्पणको प्रशंसा गर्नुभएको छ।

उहाँले संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षाको जिम्मेवारीसँगै सडक, सुरुङ तथा पुल निर्माणमार्फत मुलुकको पूर्वाधार विकासमा पनि सेनाले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभएको छ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन फास्ट ट्रयाकअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपति पौडेलले जटिल भौगोलिक अवस्था, कठिन भू–बनोट र प्रतिकूल परिस्थितिका बाबजुद सेनाले राष्ट्रिय महत्वका आयोजना अघि बढाउनु प्रशंसनीय रहेको बताउनुभयो। उहाँले महादेवटार सुरुङको निर्माण सम्पन्न हुनु मुलुकको पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो।

उहाँले काठमाडौं उपत्यकालाई तराई–मधेससँग प्रत्यक्ष जोड्ने करिब ७१ किलोमिटर लामो आधुनिक द्रुतमार्ग निर्माणपछि नेपालको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो। द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी घट्नुका साथै इन्धन खपत, सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा समेत उल्लेख्य बचत हुने उहाँको भनाइ थियो।

राष्ट्रपति पौडेलले यस आयोजनालाई भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नराखी राजधानी र तराई–मधेसबीचको भौगोलिक दूरी घटाउने, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्ने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गर्नुभयो।

पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा समेत आयोजनाले दूरगामी योगदान पुर्‍याउने उहाँले बताउनुभयो।

निर्धारित समयमै आयोजना सम्पन्न गर्न सरकार र नेपाली सेना प्रतिबद्ध रहेको आफूले पाएको उल्लेख गर्दै उहाँले निर्माणमा प्रभावकारी समन्वय र जिम्मेवार ढंगले काम गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो।

कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सुरुङ निर्माण प्राविधिक र भौगोलिक हिसाबले चुनौतीपूर्ण काम भएको बताउनुभयो। केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण आयोजना प्रभावित भएको र त्यसले आलोचना निम्त्याएको उल्लेख गर्दै उहाँले जिम्मेवारीअनुसार काम नगर्ने ठेकेदारसँगको सम्झौता तत्काल रद्द गर्ने चेतावनी दिनुभयो।

फास्ट ट्रयाकअन्तर्गत प्याकेज ९ ए र ९ बीका ठेक्का रद्द गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मन्त्री लम्सालले त्यसका लागि सरकार आवश्यक प्रक्रिया अघि बढाउन तयार रहेको बताउनुभयो।

नेपालस्थित चीनका राजदूत चाङ माओमिङले महादेवटार सुरुङको ब्रेक थ्रुलाई नेपाल–चीन सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्नुभयो।

उहाँले फास्ट ट्रयाक चीनको पनि उच्च प्राथमिकतामा रहेको आयोजना भएको उल्लेख गर्दै यसको प्रगतिले चीनलाई समेत खुसी बनाएको बताउनुभयो। नेपाल र चीन एकअर्काको विकासमा निरन्तर सहकार्य गर्दै आएको उहाँको भनाइ थियो।

त्यस्तै, दक्षिण कोरियाका राजदूत पार्क जे क्यूङले भौगोलिक चुनौतीका बाबजुद सुरुङ निर्माणमा सफलता हासिल गरेकोमा नेपाली सेना तथा निर्माणमा संलग्न प्राविधिक टोलीलाई बधाई दिनुभयो।

नेपालको प्राविधिक क्षमता र दक्षताले विकासको गतिलाई थप तीव्र बनाउन सक्ने उल्लेख गर्दै उहाँले नेपालको पूर्वाधार विकासमा कोरिया निरन्तर सहकार्य गर्न तयार रहेको बताउनुभयो।

चिनियाँ निर्माण कम्पनीका प्रतिनिधि वाङ जीले नेपालको विकास निर्माणमा सहभागी हुन पाउनु चिनियाँ पक्षका लागि गौरवको विषय भएको बताउनुभयो।

तीन सुरुङको ब्रेक थ्रु, समग्र भौतिक प्रगति ५०.५४ प्रतिशत

काठमाडौं–तराई/मधेस द्रुतमार्गको कुल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ। आयोजनाअन्तर्गत सातवटा सुरुङ निर्माण गर्नुपर्नेमा महादेवटार सुरुङको ब्रेक थ्रुसँगै तीनवटा सुरुङको निर्माण कार्य यस चरणमा ब्रेक थ्रु भएको छ। यसअघि धेद्रे र लेनडाँडा सुरुङको ब्रेक थ्रु भइसकेको छ।

आयोजनामा देवीचौर, सिसौटार, चन्द्राम भिर, महादेवटार, धेद्रे, लेनडाँडा र मौरी भिर गरी सातवटा सुरुङ छन्। तीमध्ये महादेवटार सुरुङको लम्बाइ ३ दशमलव ४५५ किलोमिटर छ। धेद्रे सुरुङ १ दशमलव ६९१ किलोमिटर र लेनडाँडा सुरुङ १ दशमलव ६३२ किलोमिटर लामो छ।

त्यसैगरी देवीचौर सुरुङ एक किलोमिटर, सिसौटार शून्य दशमलव ३९ किलोमिटर, चन्द्राम भिर २ दशमलव २३७ किलोमिटर र मौरी भिर शून्य दशमलव ५८३ किलोमिटर लामो हुनेछ। देवीचौर र मौरी भिर सुरुङको निर्माण कार्य भने सुरु हुन सकेको छैन।

देवीचौर सुरुङ खोकना क्षेत्रको जग्गा विवादका कारण प्रभावित भएको छ भने मौरी भिरको संवेदनशील भौगोलिक संरचनाका कारण सेनाले अन्य काम सम्पन्न गरेपछि निर्माण अघि बढाउने योजना बनाएको छ।

एसियन हाइवे मापदण्डअनुसार निर्माण भइरहेको द्रुतमार्गमा ८९ वटा पुल निर्माण गर्नुपर्नेछ। ती पुलको दुवैतर्फको कुल लम्बाइ २५ दशमलव ७७ किलोमिटर हुनेछ। हालसम्म ५६ स्थानका पुलको फाउन्डेसन, ३८ स्थानका पुलको सबस्ट्रक्चर र १६ स्थानका पुलको सुपर स्ट्रक्चर निर्माण सम्पन्न भएको छ।

कुल ८९ पुलमध्ये ८५ वटाको ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइएको छ। बाँकी चारवटा पुल खोकना क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण अघि बढ्न सकेका छैनन्। द्रुतमार्गमा खोकना, बुदुने र निजगढमा तीनवटा इन्टरचेन्ज निर्माण गरिनेछ।

समयसीमा नजिकिँदै, म्याद थपको तयारीमा सेना

आयोजनाको निर्धारित निर्माण अवधि आगामी चैतमा समाप्त हुँदैछ। तर, कात्तिक मसान्तसम्म यसको समष्टिगत भौतिक प्रगति ५० दशमलव ५४ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत पुगेको छ। निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न चुनौती देखिए पनि अब बाँकी कामले तीव्रता पाउने नेपाली सेनाको दाबी छ।

आयोजना प्रमुख नेपाली सेनाका सहायक रथी भरतलाल श्रेष्ठका अनुसार बढी समय लाग्ने, जटिल र चुनौतीपूर्ण तथा जमिनमुनि गर्नुपर्ने अधिकांश काम सम्पन्न भइसकेका छन्। त्यसैले बाँकी काम तुलनात्मक रूपमा तीव्र गतिमा अघि बढाउन सकिने उहाँको भनाइ छ।

उहाँले सरकारबाट आवश्यक सहजीकरण भए निर्धारित समयमै काम सम्पन्न गर्न प्रयास गरिने बताउनुभयो। सेनाका अनुसार हालसम्मको प्रगतिमा सुरुङ र अन्य कठिन संरचनाको निर्माणले महत्वपूर्ण समय लिएको भए पनि अब निर्माणको गति बढ्ने अपेक्षा गरिएको छ।

फास्ट ट्रयाक निर्माण सुरु भएदेखि नै खोकना क्षेत्रमा जग्गा विवाद प्रमुख अवरोधका रूपमा रहँदै आएको छ। ललितपुरको खोकना क्षेत्रमा जग्गा अधिग्रहण तथा स्थानीय विवाद समाधान हुन नसक्दा त्यस क्षेत्रको काम अघि बढ्न सकेको छैन। अन्य क्षेत्रमा भने अधिकांश काम सम्पन्न हुने चरणमा पुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताउनुभयो।

खोकना विवाद समाधान हुन नसकेपछि सेनाले आयोजना सम्पन्न गर्ने समयसीमा थप गर्नुपर्ने अवस्था रहेको जनाएको छ। यसअघि दुईपटक म्याद थप भइसकेको आयोजनाको अवधि पुनः थप गर्नुपर्ने तयारीमा सेना रहेको छ।

महादेवटार सुरुङको ब्रेक थ्रु कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित चीन र दक्षिण कोरियाका राजदूत, प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्च सरकारी अधिकारी तथा आयोजनासँग सम्बन्धित प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.