पाकिस्तानी सेना प्रमुखमाथि इमरान खानको हत्या गर्न खोजेको कासिम खानको आरोप
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुवाको हिरासत र सुरक्षालाई लिएर चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायलाई हस्तक्षेप गर्न अपिल गर्नुभएको छ । उहाँले सेना प्रमुख असिम मुनिरको नेतृत्वमा रहेको पाकिस्तानी सैन्य नेतृत्वमाथि हत्या, अपहरण र यातनाजस्ता गतिविधिमा संलग्न रहेको आरोप लगाउनुभएको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खान
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै कासिमले आफ्ना बुवाको सुरक्षाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीलाई कुनै क्षति पुग्नुअघि नै अन्तर्राष्ट्रिय समुदायले आवश्यक कदम चाल्नुपर्ने उहाँको आग्रह छ ।
कासिमले लेख्नुभएको छ, “मुनिर र उनको शासनले तर्क सुन्ने छैनन् । उनीहरू आफ्नो इच्छाअनुसार हत्या गर्छन्, अपहरण गर्छन् र यातना दिन्छन् । पाकिस्तानका वैध र लोकतान्त्रिक रूपमा निर्वाचित नेताको हत्या हुनुअघि नै विश्वले कदम चाल्ने समय आएको छ ।”
इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई हिरासतमा राखिएको अवस्थाबारे चिन्ता बढिरहेका बेला कासिमको यस्तो भनाइ आएको हो । अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले उनीहरूको स्वास्थ्य उपचार, परिवारसँगको भेटघाट र कानुनी प्रतिनिधित्वमा पहुँचको विषयमा प्रश्न उठाएको छ ।
एम्नेस्टी इन्टरनेसनलले एक्समा गरेको पोस्टअनुसार इमरान खानले सन् २०२५ डिसेम्बरयता परिवारका सदस्यसँग भेट्न पाउनुभएको छैन ।
सन् २०२६ अगस्टमा उहाँले आफ्नी बहिनीसँग दुई पटक भेट्न पाउनुभएको थियो । त्यस्तै, सन् २०२६ मार्चयता उहाँलाई छोराहरूसँग टेलिफोनमा कुराकानी गर्नसमेत दिइएको छैन ।
मानवअधिकार संस्थाले ७४ वर्षीय पूर्वप्रधानमन्त्रीलाई एकान्त कारावासमा राखिएको र मानवीय सम्पर्कबाट क्रमशः टाढा बनाइएको भन्ने विवरणप्रति पनि चिन्ता व्यक्त गरेको छ । यस्तो अवस्थाले उहाँको मानसिक र शारीरिक स्वास्थ्यमा असर पार्न सक्ने संस्थाको चेतावनी छ ।
इमरान खानको रक्तचापमा गम्भीर समस्या देखिएको विवरण उल्लेख गर्दै एम्नेस्टीले स्वतन्त्र चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने पहुँचसमेत पाकिस्तानी अधिकारीहरूले नदिएको आरोप लगाएको छ । सर्वोच्च अदालतले अगस्टमा उहाँलाई निजी अस्पतालमा लैजान आदेश दिएको भए पनि त्यसको पालना नभएको संस्थाको भनाइ छ ।
एम्नेस्टी इन्टरनेसनलले बुशरा बीबीको स्वास्थ्य अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेको छ । आँखासम्बन्धी समस्याबाट पीडित उहाँको दृष्टि गुम्न सक्ने जोखिम रहेको र पर्याप्त उपचारबाट वञ्चित गरिएको संस्थाले जनाएको छ ।
हिरासतमा रहेका दम्पतीमाथिको व्यवहार नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (आइसीसीपीआर) को धारा १० विपरीत रहेको एम्नेस्टीले जनाएको छ । उक्त धाराले स्वतन्त्रताबाट वञ्चित व्यक्तिलाई मानवीय व्यवहार र सम्मानका साथ राख्नुपर्ने व्यवस्था गरेको छ ।
यसैबीच, इमरान खानको अधिकारका पक्षमा आवाज उठाएको भन्दै उहाँका परिवारका सदस्य, विशेषगरी बहिनीहरूलाई हिरासतमा राखिएको घटनाप्रति पनि एम्नेस्टीले चिन्ता व्यक्त गरेको छ ।
संस्थाका अनुसार पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले इस्लामाबादतर्फ गर्न लागेको प्रस्तावित मार्चसँग सम्बन्धित घटनामा उहाँका तीन बहिनीलाई सेप्टेम्बर २० र २१ मा सन् १९६० को सार्वजनिक व्यवस्था कायम राख्ने ऐनको दफा ३ अन्तर्गत हिरासतमा लिइएको थियो ।
तीमध्ये दुई बहिनी गत साता रिहा भए पनि अलीमा खान भने लाहोरस्थित कोट लखपत कारागारमा अझै हिरासतमा रहनुभएको छ ।
एम्नेस्टी इन्टरनेसनलले पाकिस्तानी अधिकारीहरूलाई इमरान खान र बुशरा बीबीलाई पर्याप्त स्वास्थ्य उपचार उपलब्ध गराउन, परिवारका सदस्य र कानुन व्यवसायीसँग नियमित भेटघाटको व्यवस्था गर्न तथा अलीमा खानलाई तत्काल रिहा गर्न आग्रह गरेको छ । (रासस/एएनआई)




प्रतिक्रिया राख्नुहोस्