राजनीति

दीर्घकालीन योजनाका आधारमा विकास र पुनःस्थापना गर्नुपर्छ : मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माण तथा विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका काम दीर्घकालीन योजना बनाएर अघि बढाउनुपर्ने बताउनुभएको छ ।

पर्वतमा शनिबार कार्यकर्ता तथा बाढीपहिरो प्रभावित नागरिकसँगको भेटघाटमा उहाँले हतारमा गरिने कामले भविष्यमा पुनः समस्या निम्त्याउन सक्ने भएकाले वर्तमान र भविष्य दुवैलाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री श्रेष्ठले सिँचाइ पूर्वाधार, नदी नियन्त्रण र विद्युत् सेवाको गुणस्तर सुधारलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो । बाढीपहिरोबाट क्षति पुगेका पूर्वाधारको पुनःनिर्माण तथा आगामी वर्षका लागि आवश्यक तयारी हिउँदमा नै गर्नुपर्ने उल्लेख गर्दै उहाँले मन्त्रालय र मातहतका विभागले प्राथमिकताका आधारमा काम गरिरहेको जानकारी दिनुभयो ।

स्थानीयका आवश्यकता पहिचान गर्न र प्रत्यक्ष प्रभावित क्षेत्रको अवस्था बुझ्न आफू जिल्ला आएको बताउँदै मन्त्री श्रेष्ठले मन्त्रालय र सिङ्गो सरकारको ध्यान पर्वतका समस्याको समाधानमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटघाटका क्रममा जिल्लाका विभिन्न क्षेत्रका नागरिकले सामुदायिक विद्युतीकरण, कृषि, सिँचाइ, पुनःनिर्माण र पुनर्वासका विषयमा मन्त्री श्रेष्ठसँग जिज्ञासा राखेका थिए ।

यसअघि मन्त्री श्रेष्ठले शनिबार नेपाल विद्युत् प्राधिकरणको पर्वत वितरण केन्द्रको निरीक्षण गरी विद्युत् सेवामा देखिएका समस्या र तिनका कारणबारे कर्मचारीसँग जानकारी लिनुभएको थियो ।

यसैगरी उहाँले विपद्ग्रस्त क्षेत्रका रूपमा सूचीकृत जलजला गाउँपालिकामा पुगेर बाढीपहिरोले पुर्‍याएको क्षतिको अनुगमन गर्नुका साथै प्रभावित नागरिकका गुनासा सुन्नुभएको थियो ।

उहाँले बाढीपहिरो प्रभावितको पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनका लागि सरकारले विशेष योजना बनाएर काम अघि बढाएको बताउँदै राहत तथा पुनर्वासका काम छिट्टै सुरु हुने जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.