जन सरोकार

घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा शनिबार साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो । पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा सडक सम्याउने काम गरिएसँगै सडक सहज भएको हो ।

पहिरो प्रभावित घोप्टेभिरमा सडक व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउन प्रहरी टोली अहिले पनि निरन्तर खटिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले प्रहरी टोली सवारी आवागमन व्यवस्थापन, यात्रुको सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणमा सक्रिय रहेको बताउनुभयो ।

घोप्टेभिरमा सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गको मुग्लिन–पोखरा तथा मुग्लिन–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।

यसैबीच, पृथ्वी राजमार्ग सञ्चालनमा आए पनि नारायणगढ–मुग्लिन सडकखण्ड भने भोलि मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द हुने भएको छ ।

सडकखण्डको तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने काम गर्नुपर्ने भएकाले सवारी आवागमन रोकेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

सडक बन्द हुँदा दिउँसोको समयमा चितवनबाट काठमाडौँ तथा पोखरा आवतजावत गर्ने यात्रु प्रभावित हुनेछन् ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.