जन सरोकार

वैदेशिक रोजगारी तालिम केन्द्र संचालन गरेर ठगी गर्ने गिरोह सक्रिय

वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई लक्षितत गरी ठगी धन्दा चलाउँदै आएका गिरोहले तालिम केन्द्र (ट्रेनिङ सेन्टर) नै संचालन गरेको तथ्य खुलेको छ ।

वैदेशिक रोजगारीका लागि पठाउने भन्दै मानिसबाट रकम ठगी गर्ने गिरोहले ट्रेनिङ सेन्टर सञ्चालन गरेको छ भन्ने सूचनाका आधारमा परिचालन भएको प्रहरीको टोलीले सो तथ्य फला पारेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एउटा ट्रेनिङ सेन्टरमा छापा मारेर झण्डै एक हजार राहदानी बरामद गरेको छ ।

प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विदेशमा आकर्षक रोजगारीका नाममा ठगी गरेको सूचनाका आधारमा महाराजगंजस्थित सी स्टार ट्रेनिङ सेन्टरमा खानतलासी गर्दा नौ सय ९७ राहदानी फेला परेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पीडितबाट रकम असुलेर फरार भएका गिरोहले उक्त सेन्टरमा झण्डै एक हजार राहदानी राखेको भेटियो । यस विषयमा थप अनुसन्धान जारी छ ।”

यसअघि पक्राउ परेका ललितपुर निवासी ४७ वर्षीय लालबहादुर लामासँगको बयानपछि प्रहरीले उक्त सेन्टरमा छापा मारेर नौ सय ९७ राहदानी फेला पारेको रेग्मीले बताउनुभयो । लामाले काठमाडौँ महाराजगञ्जमा उक्त ट्रेनिङ सेन्टर सञ्चालन गरेका थिए ।

पीडितलाई वैदेशिक रोजगारीका लागि लिथोनिया, क्यानडा, सिङ्गापुरलगायत मुलुकमा आकर्षक तलबको लोभ देखाएर पैसा असुल्ने गरेको अनुसन्धानका क्रममा पाइएको छ । सोही क्रममा लामाले मानिसबाट राहदानी सङ्कलन गरेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म पीडितहरूबाट रु १० करोड रकम ठगी गरी लामा फरार भएका थिए । लामालाई काठमाडौँ महानगरपालिका–३१ शङ्खमूलबाट पक्राउ गरिएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

लामाले पीडितहरूबाट रु पाँच लाखदेखि १५ लाखसम्म लिनुका साथै कतिपयलाई वैदेशिक रोजगारमा पठाउन नसकेको पनि पाइएको छ ।

कतिपय व्यक्ति सिङ्गापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएकोसमेत अनुसन्धानको क्रममा खुल्न आएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार सेन्टरबाट पीडित भएकाहरुले दिएको उजुरीपछि उक्त घटना बाहिर आएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.