राजकीय भूमिकाबाट अलग रहेर आत्मनिर्भर हुन काम गर्ने ह्यारी र मेगनको घोषणा
राजदरबारको तामझामभन्दा सर्वसाधारणसंग सामान्य जीवन बिताउन र उनीहरुसंग घुलमिल हुन बढी रुचाउने बेलायती राजकुमार ह्यारी र राजकुमारी मेगन शाही भूमिकाबाट अलग भएर सामान्य जीवन बिताउने घोषणा गरेका छन् ।
एक विज्ञप्ति जारी गरी ह्यारी दम्पत्तिले शाही भूमिकाबाट अलग रहेर आत्मनिर्भरका लागि काम गर्ने घोषणा गरेपछि बेलायती दरबारमा हल्लीखल्ली मच्चिएको छ ।
बुधबार राजकुमार ह्यारी र मेगनले शाही भुमिकाबाट आफूलाई अलग राख्ने र आर्थिक रुपमा आत्मनिर्भर बन्न काम गर्ने घोषणा गर्दै आफ्नो अबको बसाइ ब्रिटेन र उत्तरी अमेरिकामा हुने बताएका छन् ।
बिबिसीका अनुसार राजकुमार ह्यारी र मेगानले यस निर्णय लिनुपूर्व बेलायती महारानी वा राजकुमार विलियमसँग कुनै सल्लाह नगरेको र उनीहरुको यस निर्णयबाट बकिङहम दरबार निराश भएको जनाएको छ ।
बुधबार अनपेक्षित रुपमा जारी भएको वक्तव्यमा राजकुमार ह्यारी र मेगनले महिनौंको आन्तरिक छलफलपछि निर्णय लिएको उल्लेख गरे पछि बेलायती शाही परिवारका वरिष्ठ सदस्यहरू यस निर्णयबाट निराश भएको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
वक्तव्यमा भनिएको छ- “हामी शाही परिवारको उच्च भूमिकाबाट पछाडि हट्न चाहन्छौं र आर्थिकरुपमा आत्मनिर्भर हुन काम गर्नेछौं, यसक्रममा महारानीलाई हाम्रो पूर्ण समर्थन जारी रहनेछ” ।