अर्थकर्पोरेट/पर्यटन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न : परीक्षण उडानका लागि तालिम सुरु

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएर परीक्षण उडानका लागि प्राविधिकहरुलाई तालिम दिन सुरु गरिएको छ ।

परीक्षण उडानका लागि प्राविधिक जनशक्तिलाई तालिम दिन अहिले अष्ट्रियाका प्राविधकिहरु भैरहवा विमानस्थलमै छन् । त्यस्तै थाई प्राविधिकहरु पनि भैरहवा विमानस्थलमै आएर तालिम दिन थालेका छन् ।

विमानस्थल बिस्तार परियोजनाका अनुसार परीक्षण उडान जति चाँडो हुन सक्यो त्यति नै चाँडो अव विमानस्थल सञ्चालनमा आउने छ । परीक्षण उडानको काम सकिएपछि मात्र प्राविधिकहरु फर्किने विमानस्थल बिस्तार परियोजनाले जानकारी दिएको छ ।

परियोजना प्रमुख प्रवेश अधिकारीका अनुसार आइसिवी–१ र आइसिवी–२ अन्तर्गतका सबै काम सकिएकोले अव परीक्षण उडानका लागि विमानस्थल तयारी अवस्थामा छ । परीक्षण उडानको दिन नै आयोजना हस्तान्तरणको मिति तय गरिने अधिकारीले जानकारी दिनुभयो ।

परीक्षण उडानको मिति भने नागरिक उड्डयन प्राधिकरणले तय गनुपर्ने हुन्छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी १) मा सम्झौता भएर निर्माण कार्य २०७१ माघ १ देखि सुरु गरेको थियो ।

आइसिबी–१ अन्तर्गत तीन हजार मिटर धावनमार्ग, चार वटा लिङ्क ट्याक्सी वे, पाँच वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्नसक्ने क्षमताको जहाज पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, पाँच सय कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, ट्याक्सी वे लगायतका काम रहेका थिए जुन अहिले सबै निर्माण सम्पन्न भई सकेका छन् ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा तीन तहका काम सम्पन्न भएका छन् । पहिलो ९आइसिबी–१ अन्तर्गत छ अर्ब ८२ करोडको । दोस्रो अन्र्तराष्ट्रिय आइसिबी–२ अन्तर्गत रु ५० करोडको काम र तेस्रो रु २२ अर्ब ४० करोडको मुआब्जा वितरणको काम सम्पन्न भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ ।

यसरी आयोजनाको सबै काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडिबिको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ । निर्माण सम्पन्न भई सकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलले अहिले १२ औं तहको महाप्रवन्धक समेत पाएको छ ।

महाप्रवन्धकको रुपमा गोविन्दप्रसाद दहाल अहिले भैरहवा बिमानस्थल आइपुग्नुभएको छ । विमानस्थल सञ्चालनको अन्तिम तयारीमा रहेको महाप्रवन्धक दहालले बताउनुभयो । थाईल्याण्डबाट एरो थाईका प्राविधिकहरु अध्ययनका लागि आएको र उनीहरुको रिपोर्टपछि करिव एक महिनामा परीक्षण उडान हुन सक्ने दाहालको भनाई छ ।

गौतमबुद्ध बिमानस्थलमा हाल ३४ जनाको दरबन्दी छ । अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा बिस्तार भैसकेपछि अव बिमानस्थलमा १५१ जना कर्मचारीको दरबन्दी रहेको उहाँले जानकारी दिनुभयो । यसबाहेक सेवा प्रदायकले आपूर्ति गर्ने १०३ जना, प्रहरी १६७ जना, मेट्रोलोजिष्ट १७ देखि २० जना, अध्यागमन, भन्सार, क्वारेन्टाईन लगायतका कर्मचारीको अवश्यकता हुन्छ ।

अध्यागमन, भन्सार, क्वारेन्टाईन र सुरक्षा बाहेक विमानस्थल सञ्चालनको लागि अहिले करिब २० जना थपिएमा हाललाई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन योग्य हुने दहालले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.