राजनीति

एमसीसीलाई राजनीतिक दाउपेचको मसला बनाएर तोरमोरड नगरौं

सरकारले मुलुकको बृहत्तर हितका लागि जुनसुकै देशसँग पनि आर्थिक सहायता लिन सकिने प्रष्ट पार्दै ‘मिलिनियम च्यालेन्स कर्पोरेशन’ (एमसीसी) सम्बन्धी अमेरिकी सहयोगका सम्बन्धमा भइरहको टिकाटिप्पणीप्रति लक्षित गर्दै सरकारले राजनीतिक दाउपेचको मसला बनाएर विषयवस्तुलाई तोरमोरड नगर्न सबैसँग आग्रह गरेको छ ।

यही माघ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न बिहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले एमसीसीका सम्बन्धमा तथ्यहरु एकातिर राखेर ठूलो स्वरले क्रान्तिकारी बनेर विरोध गर्नुको कुनै अर्थ नभएको टिप्पणी गर्नुभयो ।

एमसीसीसम्बन्धी सहयोग विद्युत् प्रसारण लाइनको क्षमता विस्तारका साथै सडक पूर्वाधार स्तरोन्नतिमा खर्च गरिने प्रष्टयाउँदै उहाँले एमसीसीबारे अनावश्यक शंका उपशंका नगर्न आग्रह गर्नुभयो । एमसीसी सहयोग सैन्य गतिविधिसँग सम्बन्धित छ भनेर ‘स्याल’ले जस्तो कराउनुको कुनै अर्थ नभएको उहाँको भनाइ थियो ।

मानवीय क्षमता र साधन स्रोतको प्रयोग तथा पूँजी र प्रविधिको संयोजनद्वारा नै समृद्धि हासिल हुने भन्दै उहाँले भारतसँग विद्युत् व्यापारसम्बन्धी सम्झौता भइसकेको अवस्थामा विद्युतीय क्षेत्रको विकासका लागि आउने सहयोगमा अवरोध गर्नेगरी वहस गर्नु भनेको राष्ट्रवादको जामाभित्र अरुलाई राष्ट्रघाती देखाएर विकास, समृद्धि र परिवर्तनको योजनालाई रोक्ने प्रयत्न भएको जिकिर गर्नुभयो ।

एमसीसी परियोजनाको लेखा प्रणाली नेपाल स्वयम्ले नै हेर्ने व्यवस्था रहेको जानकारी दिँदै उहाँले लगानी गरेको हिसाबले अमेरिकाले पनि चासो राख्न सक्ने बताउनुभयो । “एमसीसीमा हाम्रो पनि लगानी रहेको छ, हामी करिब १५ अर्ब लगानी गर्दैछौँ, उनीहरु ९अमेरिका० करिब ५५ अर्ब लगानी गर्दैछन्”, उहाँले भन्नुभयो, “जहाँसम्म संघीय संसद्बाट अनुमोदन गर्ने कुरा छ, अमेरिकाको संसद्ले अनुमोदन गरेको छ, ४९ देशमा एमसीसी परियोजना सञ्चालित छ ।”

उहाँले दक्षिण एसियामा श्रीलङ्का र नेपाल एमसीसी सहयोग प्राप्त गर्ने मुलुकका रुपमा रहेको जानकारी दिनुभयो । छिमेकी मुलुक चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) र एमसीसी परियोजना सामरिक रणनीतिका नभएको प्रष्ट पार्दै प्रवक्ता बाँस्कोटाले यो विशुद्ध आर्थिक प्रगति, सम्पर्क सञ्जाल, ऊर्जा तथा यातायात क्षेत्रको विकासमा केन्द्रित भएको बताउनुभयो । “हामी कुनै पनि मुलुकको सैन्य गतिविधिमा सामेल हुँदैनौँ, असंलग्नता हाम्रो मुख्य नीति हो”, उहाँले भन्नुभयो, “तर शीत युद्धका समयमा पनि हामीले विभिन्न मुलुकसँग सहयोग लिएका उदाहरण भने छन् ।”

विश्व बैंक, एसियाली विकास बैंक, एक्जिम बैंक अफ चाइना, एक्जिम बैंक अफ भारतलगायत दातृ निकायले पनि कुनै न कुनै शर्तका आधारमा मात्र विकास अनुदान उपलब्ध गराउँदै आएको प्रवक्ता बाँस्कोटाले कतिपय मुलुकसँगको ऋण सहायतामा पनि शर्त स्वीकारेको उदाहरण पेश गर्नुभयो ।

“सार्वजनिक रुपमा पनि, पार्टीका फोरममा पनि म बहुत स्पष्टसँग भन्न चाहन्छु, हामी अर्को बाटो हिँड्न सक्दैनौँ”, उहाँले भन्नुभयो, “हामीले अरुण तेस्रो जलविद्युत् परियोजना रोक्दा कति वर्ष पछाडि पर्‍यौँ, हामीले सहयोग लिँदै आएका अन्य दातृ निकायका शर्त छैनन् ?”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.