प्रथम गभर्नर राणाको निधन, मुलुकको अर्थ क्षेत्रमा अपुरणीय क्षति
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियाका कारण ९५ वर्षका उमेरमा उहाँको निधन हो ।

लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आउनुभएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना हुनुभएको थियो । हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुनुहुन्थ्यो ।
पछिल्लो समय उहाँ नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
यसबीच उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशम्शेर राणाको निधनबाट मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।
उहाँले केही समयअघि ट्वीट गर्दै राणाको निधनको खबर सुन्दा आफू स्तब्ध भएको र उहाँको निधनले नेपालको अर्थतन्त्रका क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।
“नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कूटनीतिक क्षेत्रका जानकार विशिष्ट व्यक्तित्व हिमालयशम्शेर जबराको निधनको खबरले स्तब्ध छु”, उहाँले भन्नुभएको छ । अर्थमन्त्री पौडेलले यस दुुःखको घडीमा राणाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्