रास्वपाका मन्त्रीहरुद्वारा राजीनामा, चुनाव नजिति पदमा नजाने लामिछानेको घोषणा
सरकारलाई दिएको समर्थन कायम राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिनुभएको हो ।
आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले जनमतअनुसारको सरकारमा सहभागी भएर समझदारीमा काम अगाडि बढेको बताउनुभयो ।
त्यस्तै आफूलाई गृहमन्त्री बनाउन दवाव दिएको भन्ने संचार माध्यममा आएका कुराहरुप्रति असन्तुष्टि जनाउँदै पूर्वमन्त्री तथा लामिछानेले भन्नुभयो, “उपनिर्वाचनबाट निर्वाचित नभई म कहीँ जाँदा पनि जान्नँ । म उपनिर्वाचनमा फेरि जनताको माझमा जान्छु । जनताले जिताएछन् भने म आउँला, जिताएनछन् भने पनि राजनीति चाहिँ गरिरहन्छु । मलाई कुनै ठाउँमा जानु छैन ।”
प्रतिक्रिया राख्नुहोस्